Home मुख्य समाचार प्रदूषणले नाक, कान, घाँटीका बिरामी बढे

प्रदूषणले नाक, कान, घाँटीका बिरामी बढे

हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः मकवानपुरमा नाक, कान, घाँटीका बिरामी बढ्दै गएको पाइएको छ । हेटौंडा अस्पतालमा उपचारका लागि नाक, कान, घाँटीका बिरामी दैनिक एक सयको हाराहारीमा आउने गरेका छन् ।

अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अनुप सञ्जेलका अनुसार यो समस्या लिएर आउने धेरै बिरामीमा वंशाणुगत, प्रदूषण, खानपान र धुम्रपानका समस्या देखिएको छ । विभागमा आउने बिरामीमा धेरै कान पाक्ने, पिनास र घाँटीमा टन्सिलको समस्या देखिने डा. सञ्जेलले जानकारी दिनुभयो ।

यस्तै, नाकमा एलर्जी, घाँटीको शल्यक्रिया गर्नुपर्ने, कान पाकेर मुख बाङ्गो हुने समस्या लिएर आउने बिरामी रहेका छन् । । उमेरअनुसार बालबालिकाहरु कान पाकेर, मध्यम उमेरकाहरु एलर्जी र पिनास भएर र बुढ्यौलीमा धेरै क्यान्सरको समस्या देखिने डा. सञ्जेलले बताउनुभयो ।

वीरगञ्जका अस्पतालमा जाने बारा, पर्सा र रौतहटका बिरामीहरुसमेत यता आउने कारणले धेरै बिरामी बढ्ने गरेको डा. सञ्जेल बताउनुहुन्छ । उहाँका अनुसार धेरै बिरामीहरु समस्या जाँच गर्न समयमा नआउने र फार्मेसीमा जाँच गर्न जाने गरेका छन् । यस्तो गरे कहिलेकाहिँ धेरै ढिला हुनसक्ने उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालमा नाक, कान र घाँटीरोग विभागमा ४ जना विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । अस्पतालमा डा. सञ्जेल, डा. सुमन बर्ताैला, डा. इन्कलाव ढुङ्गाना, डा. श्लेस्मा रिजालले सेवा प्रदान गर्दै आइरहनु भएको हेटौंडा अस्पतालले जानकारी दिएको छ ।

Exit mobile version