Home मुख्य समाचार नर्भिक अस्पतालमा उपचाररत हेटौंडाकी एक महिलामा कोरोना संक्रमण, अस्पतालको बचाउमा नर्भिकका अधिकारीको...

नर्भिक अस्पतालमा उपचाररत हेटौंडाकी एक महिलामा कोरोना संक्रमण, अस्पतालको बचाउमा नर्भिकका अधिकारीको विवादास्पद अभिव्यक्ति

काठमाडौंबाट सञ्चालित अनलाइनखबर डटकममा प्रकाशित समाचारको अंश ।

हेटौंडाः हेटौंडा अस्पतालबाट जेठ १५ गते काठमाडौं रेफर भएकी हेटौंडा–४ की एक महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज सोमबार साँझ जारी गरेको नियमित प्रेस वक्तव्यमा ६१ वर्षीया महिलामा कोरोना संक्रमण भएको जनाएको छ । मुटुमा समस्या भएर उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा ती महिलामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएलगत्तै ती महिलालाई ललितपुरस्थित पाटन अस्पतालमा रेफर गरिएको छ ।

केही दिनअघि मुटुमा समस्या भएर उपचार गराउन हेटौंडा अस्पताल आएकी महिलालाई हेटौंडा अस्पतालले काठमाडौं रेफर गरेको मन्त्रालयले जनाएको छ । त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा सोमबार साँझ ४ बजे नै ती महिलाको कोरोना संक्रमण भएको जानकारी गराइसकेको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ती महिलासँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने कार्य भइरहेको पनि उल्लेख गरेको छ । हेटौंडा अस्पतालबाट रेफर गरिएको महिलामा कोरोना संक्रमण पुष्टि भएको भन्ने जानकारीपछि हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीमा भने पुनः एकपटक त्रास बढेको छ ।

यता काठमाडौंको नर्भिक अस्पतालले भने कोरोना संक्रमित हेटौंडाकी महिलाको विषयमा विवादास्पद टिप्पणी गरेको छ । अनलाइनखबर डटकमका पत्रकारसँग नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले नर्भिक अस्पताल पुगेकै दिन ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको दावी गरेको छ । साथै अस्पतालले ती महिलालाई कोरोना संक्रमितको उपचार गरिने आइसोलेसन कक्षमा राखेर उपचार गरेको पनि उल्लेख गरेको छ । कोरोना संक्रमित नै नभई या त्यस्ता लक्षण नै नभई ती महिलालाई किन नर्भिक अस्पतालले कोरोना आइसोलेसन वार्डमा राख्यो भन्ने विषय महत्वपूर्ण छ । यस्तै नर्भिकले आइसोलेसन वार्ड अस्पताल भन्दा बाहिर बनाएको र त्यसो हुँदा अस्पतालमा कुनै असर नपर्ने भनी अस्पतालको बचाउमा बढी ध्यान दिएको देखिन्छ ।

काठमाडौंबाट सञ्चालित अनलाइनखबर डटकममा नर्भिक अस्पतालको पक्षबाट यस्तो अभिव्यक्ति प्रस्तुत भएको छ ।

(नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन,आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।’ आइसोलेसन कक्ष अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनमा खटिने विशेष टिम भएकाले अस्पतालको अरु सेवामा अप्ठेरो नपर्ने उनले जानकारी दिए ।)

Exit mobile version