हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ३ दिने आँखा शिविर हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा ५ स्थानमा निःशुल्क आँखा शिविर हुने इन्द्रसरोवर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो ।
आँखा शिविर बुधबार फाखेल स्वास्थ्य चौकी र ५ नम्बर वडा कार्यालय चखेलमा हुने छ । बिहिबार सिस्नेरी स्वास्थ्य चौकी र मार्खु स्वास्थ्य चौकीमा हुनेछ भने शुक्रबार इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रमा हुने अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार निःशुल्क आँखा शिविरमा मोतिविन्दु पहिचान भएका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रले कुलेखानीमा शनिबार निःशुल्क शल्यक्रिया गरिने छ । यस्तै आइतबार शल्यक्रिया भएको बिरामीको पट्टी खोलिनेछ । शिविरमा आँखा जाँच गर्न हेटौंडा र काठमाडौबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटिनेछन् ।
