Home मुख्य समाचार पर्यावरणीय संरक्षणसम्बन्धी अन्तरक्रिया

पर्यावरणीय संरक्षणसम्बन्धी अन्तरक्रिया

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा

हेटौंडाः प्रकृति मानवकेन्द्रित जनअभियान नेपाल, बागमती प्रदेश समिति तथा हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा पर्यावरणीय संरक्षणमा मानव जातिको भूमिकासम्बन्धी अन्तरक्रिया भएको हो ।

मानवकेन्द्रित जनअभियानका पूर्वअध्यक्ष कृष्ण गौतमको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले अहिलेको अवस्थामा हामी सबैले एकअर्कालाई इज्जत दिएर अगाडि नबढेमा समाज कमजोर हुँदै जाने बताउनुभयो । नेपाली जनताहरुसँग धेरै ज्ञान, सीप तथा ऐतिहासिक कुराहरु भए पनि सही ढंगले उपयोग गर्न नसकेको उहाँले बताउनुभयो ।

वातावरणलाई मानिसहरुले संरक्षण गर्न नसकेमा प्रकृतिमा धेरै हानि–नोक्सानी हुनसक्ने भन्दै नगरप्रमुख लामाले चराचुरुङ्गी र जीवजन्तुहरुको संख्या घट्नसक्ने बताउनुभयो । जनताहरुले अन्तर्राष्ट्रिय कानुनको बन्धनमा रहेर पर्यावरणको संरक्षण गर्ने गरेको उहाँको भनाइ छ ।

मानिसले सवारी साधनहरुमा लाखौँ रुपैयाँ खर्च गरेको भए पनि खेतीबालीमा एक रुपैयाँ लगानी नगरेकाले पर्यावरणलाई असर गरेको उहाँले बताउनुभयो । सबै मानिसले घर, टोल, गाउँबाट विकासका कामहरु सुरु गरेर प्रकृतिसँग जोड्न सकेमा पर्यावरणको संरक्षण गर्न सकिने उहाँले दावी गर्नुभयो । प्राकृतिक कुराहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको योजना मानिसले बनाउनुपर्ने उहाँको भनाइ छ । प्राकृतिक कुराहरुको संरक्षण गरेर कसरी नयाँ कुराहरु निर्माण सकिन्छ भन्ने कुराको अभियानमा लागि पर्नुपर्ने उहाँले बताउनुभयो । जबसम्म प्रकृति, तबसम्म मानव र जबसम्म मानव, तबसम्म प्रकृति भन्ने कुरालाई उहाँले जोड दिनुभयो ।

अहिले संसारमा मानव जातिको विकासका कारणले गर्दा विनास पनि भयानक तरिकाले सुरुवात भइरहेको मानवकेन्द्रित जनअभियानका पूर्वअध्यक्ष गौतमले बताउनुभयो । पर्र्यावरणको संरक्षण नभएका कारण सारा संसारको जीवजगतमाथि खतरा पैदा भइरहेको उहाँले बताउनुभयो । शुद्ध हावाको कमी, पानीको शुद्धतामा कमी, जैविक विविधतामाथि खतरा भइरहेको भन्दै गौतमले सम्पूर्ण जीवको बाँच्ने आधारमाथि चुनौतीहरु आइपरेको औँल्याउनुभयो । मानव जीवनमा आइपरेको चुनौतीहरुलाई न्यूनीकरण गर्नुपर्ने कुरामा लागि पर्नुपर्ने उहाँको भनाइ छ ।

हाम्रा सरकारभित्र कस्तो कमजोरी छ, राज्यभित्र कस्तो कमजोरी छ, सत्तापक्षमा कस्तो कमजोरी छ भन्ने कुरालाई मध्यनजर गरेर त्यो कुरालाई समेट्न लागि पर्नुपर्ने उहाँले बताउनुभयो । आफूभित्र भएको कमी कमजोरीलाई औँल्याउनुपर्ने उहाँले बताउनुभयो । विभिन्न कमजोरीलाई सम्बोधन गरेमा पृथ्वीको संरक्षण गर्नसक्ने उहाँले बताउनुभयो ।

यो कार्यक्रम अहिले ४७ वटा जिल्लामा चलिरहेको भन्दै गौतमले ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा प्रकृति मानवकेन्द्रित अभियन्ता उत्तम कँडेललगायतको उपस्थिति थियो ।

Exit mobile version