Home मुख्य समाचार आज मकवानपुरका सबै सामुदायिक विद्यालय बन्द हुने

आज मकवानपुरका सबै सामुदायिक विद्यालय बन्द हुने

हेटौंडाः सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकको बिरोधमा नेपाल शिक्षक महासंघले आह्वान गरेको आन्दोलनको कार्यक्रमअनुसार आज बिहीबार मकवानपुरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द हुने भएका छन् ।

माग सम्बोधन नभएसम्मका लागि बुधबारदेखि बिद्यालय बन्द गर्ने निर्णय भए पनि बुधबार सार्वजनिक विदासमेत भएका कारण पनि विद्यालय बन्द भएका थिए । तर, आज बिहीबारबाट नियमित पठनपाठन हुनुपर्ने विद्यालय नखुल्ने महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले बताउनुभयो । निजी विद्यालयहरुलाई समेत शिक्षकहरुको आन्दोलनमा एक्येबद्धता जनाउँदै विद्यालय बन्द गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

महासंघको आह्वानमा बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोधस्वरुप शिक्षकहरुले गरेको मार्चपासमा मकवानपुरबाट करिब १ हजार २ सय शिक्षकले सहभागिता जनाएको ढकालले जानकारी दिनुभयो । शिक्षकहरुले राखेका माग पूरा नभएसम्म विद्यालयको पठनपाठन नखुल्ने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले अहिले सदनमा पेश गरेको शिक्षा विधेयकमा १७ वटा बुँदा परिवर्तन गर्नुपर्ने महासंघको माग रहेको उहाँको भनाइ छ । अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, शिक्षकको बढुवा, शिक्षकको सरुवालगायका माग राख्दै सरकारले केही बुँदा परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा उल्लेख भएबमोजिम स्थानीय तहलाई सम्पूर्ण अधिकार दिँदा राजनीतिक आस्था र पक्षधरताको आधारमा काम हुने जोखिम रहेको बताइएको छ । शिक्षा क्षेत्र शिक्षकसँग मात्र नभई विद्यार्थीको भविश्यसँग जोडिएको हुनाले आभिभावकलाई समेत आन्दोलनमा सहाभागी हुन ढकालले अनुरोध गर्नुभयो । सरकारले शिक्षकको मागलाई छिट्टै नै सम्बोधन गरेमा आफूहरु विद्यालय बन्द गर्ने पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

Exit mobile version