Home मुख्य समाचार नारी संरक्षण केन्द्र मकवानपुरको अध्यक्ष पुनः गुरुङ

नारी संरक्षण केन्द्र मकवानपुरको अध्यक्ष पुनः गुरुङ

साधारणसभाको उद्घाटन गरदैको तस्वीर ।

हेटौंडाः नारी संरक्षण केन्द्र मकवानपुरको अध्यक्षमा पुनः दीपाकुमारी गुरुङ चयन हुनुभएको छ । बुधबार भएको केन्द्रको २३ औं साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

गुरुङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको छ । केन्द्रको उपाध्यक्षमा भिष्मराज सापकोटा, सचिवमा प्रतिकला चौधरी र कोषध्यक्षमा आरती बोजरी चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

संस्थाले महिला र बालबालिकाको संरक्षण, बेचबिखन र विभिन्न हिंसाबाट बचाउने तथा शिक्षामा पहुँच पुर्‍याउने गरी काम गरिरहेको कार्यक्रम संयोजक जेरोम घलेले बताउनुभयो । हेटौंडा–१८, हर्नामाडीस्थित आवासीय बालगृहमा अहिले १६ जना बालबालिका रहेका छन् । जसमध्ये गत आर्थिक वर्षमा संस्थाले २७ जना बालबालिकामध्ये ११ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराएको छ । बालगृहमा रहेकाहरु अहिले हेटौंडाका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेको जनाएको छ ।

संस्थाले यस वर्ष हेटौंडा उपमहानगरभित्रका १० जना र राक्सिराङका ६ महिलालाई आधारभूत सिलाई तालिम प्रदान गरेको छ । यस्तै, राक्सिराङभित्रका विभिन्न विद्यालयमा १ सय २८ पटक विद्यार्थीहरुबीच बाल अधिकार र बाल विवाहविरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । हेटौंडाभित्र रहेका अति विपन्न ४७ जना बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाका अध्यक्ष गुरुङको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, बाल संरक्षण सञ्जालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र हेटौंडा उपमहानगरपालिको सामाजिक विकास कल्याण विभागका अधिकृत भैरब कुमाल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version