Home अन्तरवार्ता व्यवसाय प्रवद्र्धनका लागि विज्ञबाट परामर्श दिन सक्ने बनाउने अभ्यास गरिरहेका छौं

व्यवसाय प्रवद्र्धनका लागि विज्ञबाट परामर्श दिन सक्ने बनाउने अभ्यास गरिरहेका छौं

स्वागतराज प्याकुरेल, अध्यक्ष, उद्योग संघ मकवानपुर

उद्योग संघ मकवानपुरले नवउद्यम प्रवद्र्धनका लागि कार्यशाला र कार्यशालाको उपलब्धीलाई प्रदर्शन गर्ने हाटको आयोजना गर्दैछ । उद्यमशीलता प्रवद्र्धनका लागि ओठे प्रतिवद्धता प्रसस्तै देखिए पनि प्रभावकारी योजना भने देखिँदैन । राज्यबाटै प्रभावकारी योजना बन्न नसकिरहेका बेला निजी क्षेत्रले आँटेको नवउद्यम कार्यशालाको तयारी र यसका उद्देश्यबारे उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नवउद्यम भनेर नयाँ र रचनात्मक उद्यम व्यवसायमा क्षेत्रलाई प्रवर्धन गर्ने गरी कार्यशालाको आयोजना पहिलो पटक गर्दै हुनुहुन्छ, यसको तयारी र अवधारणा के हो ?
प्याकुरेलः
मूलतः २०७२ सालको भूकम्प र कोभिड–१९ पछि उद्यमीहरुले भोगेका समस्याहरु र अर्थतन्त्रमा देखिएको प्रभावहरुलाई हेरी नव प्रवद्र्धनको हिसाबले अगाडि बढौं । शैक्षक संस्था कलेजका विद्यार्थीलाई सहकार्य गरेर उद्योग व्यवसायमा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचले नै यसको जन्म भएको हो ।

समाजः यो अवधारणा तपाईहरुले ल्याउनुभएको छ, कस्ता मानिसहरु यस नवउद्यमी अवधारणामा सहभागी हुन सक्ने अवस्था छ ?
प्याकुरेलः
हामीले यस संस्थामा आवेदन दिनका लागि कुनै उद्यामीले व्यवसाय दर्ता गरेको ५ वर्ष नकटेकालाई भनेर राखेका छौं । यसमा कुनै पनि व्यवसायले आवेदन दिन सक्नुहुन्छ । सुरुमा हामी बुटक्याम्प मार्फत २० जनालाई छनौट गर्छौं । नवप्रवद्र्धनमा महिला व्यवसायीलाई प्राथमिकता दिनेछौं । त्यस मध्येको ५ जनालाई छनौट गरी उहाँहरुलाई बिजनेस मिटिङको बारेमा सिकाएर १८ महिनासम्म सहयोग गर्छौं ।

समाजः उद्योग संघ मकवानपुरले विजनेस इन्कुवेसन सेन्टर पनि स्थापना गरेको छ । यसले चाँहि के गर्छ, यसको संरचना कस्तो छ ?
प्याकुरेलः
विजनेस इन्कुवेसन भनेको के हो भने जस्तो कि कुखुराको अण्डा राखेर चल्ला निकालिन्छ । त्यस्तै भर्खर स्थापित व्यवसाय सुरु गरेका मानिसलाई व्यवसाय दर्ता गर्नका लागि कुनै निकायमा जानुपर्ने हो कि, उसलाई पाउनुपर्ने सेवा सुविधाको बारेमा अनविज्ञ छ कि । आफुले थालेको व्यवसायका बारेमा कुनै विज्ञसँग छलफल गरेर थप बुझेर व्यवसाय गर्ने मन छ कि । मलाई व्यवसाय गर्न कुनै आफिस चाहिएको छ कि भन्ने जस्ता चिन्ता भएकाहरुको समस्याको भरपुर समाधान गर्ने संरचना हो । यो भौतिक संरचना मात्र नभई भर्चुअल सबै किसिमले यसले काम गर्छ । हामी उहाँहरुका लागि नेपालको विज्ञहरुले मात्र नभई देश बाहिरका विज्ञबाट परामर्श दिन सक्ने बनाउने अभ्यास गरिरहेका छौं ।

समाजः यसको स्थापना भएको कति समय भयो र यसले कति व्यवसायसँग समन्वय भइरहेको छ ?
प्याकुरेलः
उद्योग संघ मकवानपुरले नै गरेको अवधारणा ल्याएर जाने गरेको चाँहि ४÷५ वर्ष नै भइसक्यो । तर कुनै सरकारी निकायहरुसँग सहकार्य गर्ने गर्दागर्दै धेरै समय खेर फाल्यौं । हामीले बरु सानो र थोरैबाट सुरु गर्ने अब संरक्षण गर्नु पर्छ भनेर लागेका छौं । यस विषयमा हामी लगभग ६ महिना अगाडिदेखि नै स्थापनाको प्रक्रिया बढायौं । अहिले त्यही इन्कुवेसन सेन्टरमार्फत पहिलो व्याचमा नवउद्यमी बुटक्याम्प भनेर २० जनालाई निशुल्क रुपमा ४ दिने कार्यशालामा सहभागी गराएर १ दिनको हाटबजारमा उहाँहरुको प्रस्तुतीको अवसर दिलाउन खोजिरहेका छौं ।

समाजः यस नवउद्यमी कार्यशाला आयोजना गर्न र तपाइँरुले स्थापना गर्नुभएको इन्कुवेसन सेन्टरलाई प्रेरणा दिने विज्ञ जनशक्ति मकवानपुरमा कति उपलब्ध छन् र बाहिरबाट कति ल्याउनुपर्ने भएको छ ?
प्याकुरेलः
हामीले मकवानपुर जिल्लालाई अवमूल्यन गर्छौं जस्तो लाग्छ । मकवानपुरमा नेपालकै ठूलो औद्योगिक क्षैत्र पनि रहेको छ । उद्योग संघ मकवानपुरमा मात्रै १६० सदस्य छन् । अहिलेसम्म २१ जना उत्प्रेरकहरु जोडिएका छन् । अन्तर्राष्ट्रियरुपका नेदरल्याण्ड्सका कुम भन्ने संस्थाहरुमा काम गरिसकेका क्षमतावान व्यक्तिहरुलाई हामीले जोडिरहेका छौं । आफ्नो क्षमतालाई संसारलाई देखाउन आत्तुर भइसकेका व्यक्तिहरुसँग हाम्रो उत्प्रेरक टोलीले समन्वयन, सहकार्य गर्नुभएको छ ।

समाजः नवउद्यम कार्यशालाले भर्खर दर्ता भएका व्यवसायको चाहिँ प्रवद्र्धन, विकास र विस्तारको कुरालाई मात्र छलफल गछौं ?
प्याकुरेलः
यसले दर्ता भएका मात्र किन खोजिएको हो भने उनीहरु दर्ता भइसकेपछि केही न केही लक्ष्य लिएरै आएका हुन्छन् । ए यो कार्यक्रम त निशुल्क रहेछ, दर्ता नभएकाहरु आउँछन् भनेर नै दर्ता भइसकेको खोजिएको हो ।

समाजः तपाईहरुले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने भनेर प्रयत्न गर्नुभएको छ कि छैन ?
प्याकुरेलः
पहिला हामी जिल्लास्तरकै निकायसँग छलफल भएको हो । यसका लागि केही बजेट पनि छुट्याउने जस्ता कुरा अघि बढिसकेको थियो । यसलाई प्रदेशले ठूलो हिसाबले लानुपर्छ भनेको थियो । अघिल्लो आर्थिक वर्ष संघीय सरकारको बजेटले सात वटै प्रदेशमा एक÷एक वटा इन्कुवेसन सेन्टरको स्थापना गर्नका लागि २६ करोड छुट्याएको थियो । यसको सुरुआत हेटौंडा औद्योगिक क्षेत्रबाट गर्ने भनेपछि हामी झन् उत्साहित भयौं । यो चाहि हामीले वर्षैदेखि गरेको प्रयासले हो कि जस्तो पनि लागेको थियो । दुर्भाग्य त्यो कार्यक्रम लागु नै भएन ।

समाजः स्थानीय तहसँग तपाईहरुको छलफल कस्तो भयो ?
प्याकुरेलः
हामीले नगरपालिकासँग यसबारेमा छलफल गरेका छैनौं । किनभने जिल्लासँग गरेको छलफलले हामीलाई निराशामा पुगेपछि अघि बढाएन । यस मकवानपुर जिल्लाबाट एकजना मात्र उद्यमी निस्कियो भने हामीले केही न केही ग¥यौं भन्ने हुन्छ ।

समाजः तपाईहरुले स्थानीय तहसँग कमजोर आँक्नुभएर हो कि ? मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुसँगको सहकार्य सम्भव हुन्थ्यो कि ?
प्याकुरेलः
हामीले मकवानपुरका स्थानीय तहहरुसँग कुरा गरेका छैनौं । हामीले चाहिँ पहिला केही न केही काम गरौँ । त्यसपछि काम गर्न सहज हुन्छ, केही न केही सहयोग आउँछ भनेर हामीले सोचेको छौँ ।

समाजः तपाईहरुले नवउद्यम कार्यशालामा सहभागिताका लागि २० भन्दा बढि आवेदक आयो भने कुन आधारमा छनौंट गर्नुहुन्छ ?
प्याकुरेलः
यसका लागि समिति गठन हुन्छ । छनौटका लागि ३ वटा प्रस्ट आधारहरु छन् । एउटा भनेको नवप्रवद्र्धक खालमा आधारित महिला व्यवसायीलाई बढि प्राथमिकता दिन्छौं । स्थानीय रुपमा उत्पादित कच्चा पदार्थको प्रयोग गर्ने उद्यमीको आवेदन आएमा विशेष जोड दिन्छौं ।

समाजः तपाईहरुले अपेक्षा गर्नुभएको २० जना आवेदक नपुगेको खण्डमा के गर्नुहुन्छ ?
प्याकुरेलः
हामी यस्तो २० जना मानिस पुगेन भने पनि उहाँहरुलाई फर्काउँदैनौं । जति जना आए पनि निराश गरेर पठाउने पक्षमा हामी छैनौं । हामी यो ४ दिनको कार्यशाला र एक दिनको हाट सम्पन्न गरेर नवउद्यम प्रवद्र्धनको अभियान सुरु गर्छौं ।

समाजः नवप्रवद्र्धनका गर्नका लागि तपाईहरुलाई प्रमुख चुनौती के जस्तो लाग्छ ?
प्याकुरेलः
हामीलाई सबैभन्दा मुख्य चुनौती भनेकै स्रोतको हो । उद्योग संघ मकवानपुर सामाजिक संस्थाको रुपमा रहेको छ । यससँग आफ्नो ठूलो बजेट छैन ।

Exit mobile version