Home मुख्य समाचार स्नातक तहका विद्यार्थीका लागि बस सेवा सुरु

स्नातक तहका विद्यार्थीका लागि बस सेवा सुरु

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १८ नम्बर वडाले स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि बस सेवा सुरु गरेको छ । वडाले आइतबारदेखि बस सेवा सञ्चालनमा ल्याएको वडा अध्यक्ष अनिलकुमार बानियाँले जानकारी दिनुभयो । स्नातक तहमा अध्ययनरत वडाका विद्यार्थीको सुविधाका लागि वडाले नै खर्च बेहोर्ने गरी बस सेवा सुरु गरेको हो । वडाले प्रतिविद्यार्थी दैनिक ५० रुपैयाँको दरले यातायात खर्च व्यहोर्ने बताइएको छ ।

विश्वविद्यालय तहको शिक्षा आर्जन गर्ने विद्यार्थी १८ किलोमिटर टाढा जानुपरेकाले वडाले यो उपाय निकालेको हो । आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी पढ्न जान नसकेको तथा पढ्न गएका विद्यार्थी नबिग्रिउन् भनेर वडाले बस सेवा सञ्चालनमा ल्याएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

वडाले बस प्रयोग गर्ने विद्यार्थी ८० जना हुने अनुमान गरेको भए पनि १ सय २६ जना विद्यार्थीले यातायात सुविधा लिने अवस्था देखिएको बताइएको छ । विद्यार्थीका लागि वडाले दुई वटा बस भाडामा लिई सञ्चालन गरेको छ । बसले बालबालिकालाई क्याम्पस समयमा पु¥याउनुपर्ने गरी वडा कार्यालय र बस सञ्चालकबीच सम्झौता गरिएको उहाँले बताउनुभयो । बसले दैनिक चार “सिप्mट”मा विद्यार्थी ल्याउने तथा पु¥याउनुपर्ने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

वडाले बसमा दोहोरो जाँच, दर्ता तथा क्याम्पसमा उपस्थितिसमेत हेर्ने भएको छ । वडा अध्यक्ष बानियाँका अनुसार बस सेवा सञ्चालन भएपछि छोरी मान्छेलाई डर नहुने, रातिको समयमा बस नपाउने समस्या नहुने बताउनुभयो । बस सेवाले विद्यार्थीलाई समयको पालना गर्न सहयोग पुग्नुका साथै पढाइमा सकारात्मक सोचको विकास हुने विश्वास लिएको उहाँको भनाइ छ ।

वडाले बस सेवा प्रयोग गर्ने विद्यार्थीका लागि कार्ड बनाएको छ । कार्ड भएका विद्यार्थी नराम्रो बाटोतिर लागे वा नराम्रो ठाउँमा गएको पाइएमा कडा कारबाही गरिने उहाँले जानकारी दिनुभयो । बस सेवा सञ्चालनप्रति अभिभावकको सकारात्मक जवाफ आएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

Exit mobile version