Home अर्थ/व्यापार अनुगमनको क्रममा सिल गरिएको जय शम्भु मिष्ठान्न भण्डार खुला, चन्दन स्वीट्समा सरकारी...

अनुगमनको क्रममा सिल गरिएको जय शम्भु मिष्ठान्न भण्डार खुला, चन्दन स्वीट्समा सरकारी सूचना च्यातियो

अनुगमन टोलीले आइतबार सिल गरे पनि सोमबार खुल्लै रहेको जय शम्भु मिष्ठान्न भण्डार ।

हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आइतबार अनुगमनका क्रममा अत्यधिक फोहर र असुरक्षित भण्डारण एवम् बिक्री वितरणको अवस्था देखेर सिल गरिएको हेटौँडा–१०, मेनरोडस्थित जय शम्भु मिष्ठान्न भण्डार सोमबार खुला रहेको छ ।

स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायको समेत सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको संयोजनमा भएको अनुगमनका क्रममा कमिकमजोरी भेटिएपछि गरिएको सिललाई बेवास्ता गर्दै व्यवसायीले पसल सुचारु राखेका छन् ।

अनुगमनपछि सचेत गराउँदै टाँसिएको सूचना च्यातिएको अवस्थामा ।

यता हेटौँडा–४, कान्तिराजपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीले पनि सरकारी सूचना च्यातेको पाइएको छ । सोमबार दिउँसो अनुगमनको क्रममा चन्दन स्वीट्स एण्ड बेकरीले फोहर व्यवस्थापनमा ध्यान नदिउको, फोहर पानी बग्ने पाइप फुटेर दुर्गन्धित भएको लगायतको वस्तुस्थितबारे उल्लेख गरिएको सूचना टाँस गरिएको थियो ।

अनुगमनका क्रममा पाइएको कैफियतसम्बन्धी सूचना ३ दिनसम्म सुरक्षित राख्न र उपभोक्ताले अध्ययन गर्न पाओस् भन्ने उद्देश्यले टाँसिएको थियो । तर, अनुगमन टोली गएको केही मिनेटमै सूचना च्यातिएको छ । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका कार्यालय प्रमुख क्षीतिज श्रेष्ठलाई जानकारी गराउँदा अनुगमन टोलीका संयोजकमार्फत बुझ्ने बताउनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति ।
Exit mobile version