Home अर्थ/व्यापार चेक चोरेर वन समूहको खाताबाट २५ लाख झिकियो, पीडितद्वारा दोषीलाई कारवाहीको माग

चेक चोरेर वन समूहको खाताबाट २५ लाख झिकियो, पीडितद्वारा दोषीलाई कारवाहीको माग

चेक चोरी गरी पैसा झिकिएको विषयमा जानकारी दिनुहुँदै सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बिक ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको चेक चोरी गरी २५ लाख रुपैयाँ अनधिकृत व्यक्तिले झिकेका छन् । मनहरी–६, डिपार्टमा दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङले चेक चोरी गरी २५ लाख रुपैयाँ झिकेका हुन् । गत माघ १४ गते खाजा खान होटलमा गएका बेला थिङले चेक चोरी गरी माघ १८ गते चेक काटेर वन समूहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट आफ्नो नाममा कामना सेवा बैंकमा रहेको खातामा २५ लाख रुपैयाँ ट्रान्सफर गरेको थिए ।

सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बिकका अनुसार थिङले २ थान चेक चोरी गरी रकम वन समूहको रकम आफ्नो खातामा सारेका हुन् । डिभिजन वन कार्यालय मनहरीबाट काठे पुल र वन्यजन्तुका लागि कुवा निर्माण गर्न प्राप्त भएको रकम रहेको खाताबाट पैसा झिक्नका लागि भनेर छाप लगाएर हस्ताक्षर समेत गरिराखेको चेक थिङले चोरी गरेको बिकको भनाइ छ । काम सम्पन्न भइसकेकोले भुक्तानी दिने तयारी गरी समूहले बैठक बसेर निर्णय समेत गरिसकेको अवस्थामा चेक चोरी गरेर रकम झिकिदिएपछि आफूहरु समस्यामा परेको बिकको भनाइ छ ।

प्रहरीको समन्वयमा पैसा फिर्ता गर्ने मौखिक सहमति भए पनि पैसा फिर्ता नभएपछि वन समूहले चैत ५ गते प्रहरीमा चोरी मुद्दा दर्ता गरेको बताएको छ । फागुन २० गतेसम्म पैसा फिर्ता गर्न सहमत भएका थिङले पछि भने उल्टै धम्क्याउन थालेको वन समूहका अध्यक्ष शिवकुमार बिक बताउनुहुन्छ । अहिले थिङ सम्पर्कमै नरहेको बताउनुहुँदै सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

Exit mobile version