हेटौँडाः गजल मञ्च मकवानपुरको २०५ औँ गजल यात्रा शनिबार भएको छ । यात्रामा २ दर्जन गजलकारले गजल वाचन गरे । माया प्रेमदेखि समाजका विकृति विसंगति र राजनीतिक असङ्गतिहरु विरुद्ध गजलकारहरुले गजल वाचन गर्नुभएको छ ।
गजल विधाको उन्नयन र प्रवद्र्धनमा काम गर्दै आएको गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ । मञ्चले पछिल्लो समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणको कार्यक्रम गरी नवसर्जक केन्द्रित शृङ्खलाहरुसमेत सञ्चालन गरिरहेको छ ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा साहित्यकार, महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्वअध्यक्ष दीपक गौतम, वातावरणविद् श्रवण शर्मा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषोत्तम आचार्य, गजलकारहरु विष्णु गौतम, सानू खनाल, ऋषि केबि, विशाल अधिकारी ’आशुतोष’, रजनी पौडेल, सुवास सजल, सुनिल गौतम, अनिल कोइराला, प्रेरक गौतमले गजल वाचन गर्नुभयो ।