Home अन्तरवार्ता “हामी मिलेर सँगै जानका लागि अन्तिम चरण पुगिसकेका छौँ”

“हामी मिलेर सँगै जानका लागि अन्तिम चरण पुगिसकेका छौँ”

नारायणलाल श्रेष्ठ प्रबन्धक, चुरेहिल हस्पिटल

मकवानपुर जिल्लाको स्वास्थ्य सेवाको क्षेत्रमा विगतमा भन्दा निक्कै सुधार भएको छ । जिल्ला अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताललाई बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्दै लगेको छ भने निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि आफ्नो क्षमता विकास गर्दै गएको छ । यसैबीच सञ्चालनको नवौं वर्षमा प्रवेश गर्दै गर्दा हेटौँडा–११, थानाभर्याङस्थित चुरेहिल हस्पिटलले चितवन जिल्लास्थित चितवन मेडिकल कलेजसँग मर्ज भएर क्षमता विस्तारको योजना बनाउँदैछ । मेडिकल कलेजसँग मर्ज भएपछि चुरेहिल अस्पतालबाट अझ स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षासहित मकवानपुरवासीले सुखद् समाचारको रुपमा लिएका छन् । चुरेहिल हस्पिटल र चितवन मेडिकल कलेजबीच मर्जको विषयमा चुरेहिल हस्पिटलका प्रबन्धक नारायणलाल श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः चुरेहिल हस्पिटल र चितवन मेडिकल कलेज (सिएमसी) सँग मर्ज हुने अवस्था कसरी आयो ?
श्रेष्ठः
हाम्रो चुरेहिल हस्पिटलको व्यवस्थापन पक्षमा सुधारको आवश्यकता महसुस ग¥यौं । हस्पिटललाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हाम्रो भन्दा ठूला केही अस्पतालहरुसँग छलफल ग¥यौं । अन्ततः चितवन मेडिकल कलेज र चुरेहिल हस्पिटल जोडिन पुग्यो । हामीले सुविधा सम्पन्न अस्पतालको कल्पना गरेका छौं । हामी हेटौंडाकै राम्रो सुविधासम्पन्न र व्यवस्थित अस्पताल बनाउने योजनामा छौं ।

समाजः चुरेहिललाई नै नयाँ सुविधासम्पन्न अस्पताल बनाएर सञ्चालन गर्न खोज्नुभएको छ ?
श्रेष्ठः
एउटा तहको व्यवस्थापनमा चुरेहिल हस्पिटल छँदैछ । चुरेहिलको नाम के रहने र सिएमसी कसरी अटाउने भन्ने विषयमा हामी निष्कर्षमा पुगेका छैनौं । हामी मर्ज गर्ने तयारीमा छौं ।

समाजः यो मर्ज तपाईहरुको आवश्यकताले मात्रै हुन लागेको हो कि सिएमसी पनि हेटौँडामा सेवा विस्तार गर्न इच्छुक थियो ?
श्रेष्ठः
यो दुइटै कुरा मिल्न खोज्छ । हाम्रो कुराले पनि सम्भव थिएन, उहाँहरुको कुराले मात्रै पनि सम्भव थिएन । तर हामी मिलेर सँगै जानका लागि अन्तिम चरण पुगिसकेका छौँ । आउँदो भदै ७ गते पत्रकार सम्मेलन गर्दैछौँ । सम्पूर्ण पत्रकार साथीहरुलाई बोलाएर त्यहाँ कस्ता–कस्ता सुविधाहरु दिन्छन्, अब हस्पिटल कसरी अघि बढ्छ । हस्पिटलको सम्पूर्ण कार्यलाई व्यवस्थित बनाएर अगाडि बढ्ने योजना छ ।

समाजः यो ८/९ वर्ष तपाईहरुले सेवा प्रदान गर्नुभयो, अब हामी मकवानपुरकोे चुरेहिल अस्पताललाई कुन स्तरको अस्पतालमा सञ्चालन गर्नुपर्छ भन्ने तपाईहरुको बुझाई छ ?
श्रेष्ठः
उद्देश्य त ठूलो लिएका थियौँ । तर, विभिन्न कारणले गर्दा हामी त्यो स्तरमा पुग्न सकेनौँ । सिएमसीसँग डाक्टरको कुनै कमि छैन । त्यो हिसाबले अबको दिनमा मकवानपुरमा डाक्टरहरुको कमी भएको कारणले गर्दा अस्पतालहरु नचल्ने अवस्था हुन्न । अब डाक्टरहरुको कमी हुने छैन, त्यसैले अस्पतालहरु चल्नेमा हामी ढुक्कले छौँ ।

समाजः मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्र एउटा हिसाबले विकसित हुँदैछ अथवा परिपक्वा हुँदैछ भनी बुझाउने गरी सम्झौता हुँदै हो ?
श्रेष्ठः
आउने दिनमा चुरेहिल र सिएमसी मर्ज हुँदै गर्दा हिजोकै संरचनामा चल्ने हो भने किन आवश्यक रह्यो त ? त्यसैले यसलाई स्तरोन्नति गर्नुपर्छ । त्यसलाई विभिन्न डाक्टरहरुको सेवा, सुविधा दिनुपर्छ । यसैगरी न्युरो, मेडिसिन, अर्थाेपेडिक र धेरै नै संकायहरु हाम्रो मकवानपुरमा जारी भइसकेको अवस्था छैन ।

समाजः चुरेहिल अस्पतालमा वेडको हिसाबले र अरु थप कार्यक्रमहरु के–के रहने छ ?
श्रेष्ठः
अहिले हामी २५ वेडमा छौँ । अब हामी सय वेडमा ल्याउन समय लाग्छ । एउटा अस्पतालले २५ वेड लिएको ५/७ वर्ष पुगेपछि वेड थप्न पाइने रहेछ । अस्पताललाई अपग्रेड गर्न हामीसँग पुग्दो संरचना छ । त्यसैले हामी चाँडै सय वेडमा जान्छौँ । सय वेडमा गइसकेपछि नर्सको आवश्यक हुन्छ । हामी नर्स पढाउने सहमति नै छौँ ।

समाजः तपाई चुरेहिल अस्पतालको प्रबन्धक रुपमा रहिरहनुहुँदा मकवानपुरका सेवाग्राहीलाई के भन्नु हुन्छ ?
श्रेष्ठः
अब मकवानपुरबासी सामान्य चोटपटक, टाउकोमा चोट लाग्दा उपचारका लागि टाढा जानुपर्ने बाध्यताको आवश्य अन्त्य हुनेछ । सिएमसीले दिने सेवासुविधाहरु यहीँबाट दिने भएको छ ।

Exit mobile version