Home मुख्य समाचार एसईई ग्रेडवृद्धि मौका परीक्षामा ७८९ विद्यार्थी सहभागी

एसईई ग्रेडवृद्धि मौका परीक्षामा ७८९ विद्यार्थी सहभागी

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि परीक्षा केन्द्रमा परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडाः एसईई ग्रेडवृद्धि मौका परीक्षाको दोस्रो दिन ७ सय ८९ विद्यार्थी सहभागी भएका छन् । ग्रेडवृद्धि मौका परीक्षा दिन फारम भरेकामध्ये १ सय ९ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ । दोस्रो दिन ३ सय ३८ छात्र तथा ४ सय ५१ छात्राले परीक्षा दिएका छन् ।

यसअघि पहिलो दिन शुक्रबार ९ सय २७ जनाले परीक्षा दिएका थिए । पहिलो दिन परीक्षा फारम भरेका मध्ये १ सय ५८ जना अनुपस्थित भएका थिए । एउटा मात्रै विषयको ग्रेडवृद्धि परीक्षा दिन फारम भरेका विद्यार्थीले पहिलो दिन शुक्रबार नै परीक्षा दिएका थिए भने दुईवटा विषयको ग्रेडवृद्धि दिन परीक्षा फारम भर्ने विद्यार्थीले दोस्रो विषयको परीक्षा शनिबार दिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले ४ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गरेको थियो । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि, हेटौँडा–२ स्थित सिद्धार्थ मावि र बालजागृति माविमा परीक्षा केन्द्र तोकिएको थियो । एकजना विद्यार्थीले ग्रेड सी वा सो भन्दा कम कम ग्रेड प्राप्त भएका दुई वटा विषयको ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् । कुनै दुई विषयमा अनुपस्थित भए पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । मौका परीक्षाको नतीजा छिट्टै प्रकाशन हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।

Exit mobile version