Home खेलकुद जिल्लास्तरीय टेबलटेनिसको उपाधि वाग्लेलाई

जिल्लास्तरीय टेबलटेनिसको उपाधि वाग्लेलाई

उपाधि विजेता वाग्लेलाई सिल्ड हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः जिल्लास्तरीय खुला टेबलटेनिस प्रतियोगिताको उपाधि परासर वाग्लेले जितेका छन् । शनिबार बिहान हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न फाइनल खेलमा एन्जल डी विष्टलाई ३–१ को सेटमा पराजित गर्दै वाग्लेले उपाधि जितेका हुन् ।

पहिलो र दोस्रो सेट ११–५, ११–८ ले आफ्नो पक्षमा पारेका वाग्लेले तेस्रो सेट भने १२–१० ले गुमाए । तेस्रो सेट आफ्नो पक्षमा पारे पनि विष्टले खेलमा फर्कन सकेनन् । चौथो सेट ११–८ ले आफ्नो पक्षमा पार्दै वाग्लेले उपाधि जिते । वाग्लेले नगद ५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा शुक्रबार र शनिबार दुई दिन भएको प्रतियोगितामा २५ जना खेलाडीको सहभागिता रहेको थियो ।

नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, टेबलटेनिस संघ मकवानपुरका अध्यक्ष विजयराज जोशी, नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीका सचिव जनरल श्रेष्ठ, नेकपा एमालेको जनसंगठन संयन्त्र मकवानपुरकी उपप्रमुख आरती पाठकको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version