Home मुख्य समाचार आँखा पाक्ने रोगका बिरामी बढ्दै

आँखा पाक्ने रोगका बिरामी बढ्दै

हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौंडाः आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को समस्या देशव्यापी बढ्दै गएको छ । हेटौंडामा पनि यस रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा पाक्ने रोगको उपचार गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्ला दिनहरुमा आँखा अस्पतालमा धेरैजसो बिरामी आँखा पाक्ने रोगको समस्या लिएर आउने गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका डा. सुनिल थकालीले जानकारी दिनुभयो ।

पहिला धेरै बिरामी दृष्टि दोष र मोतिबिन्दुका कारण आउने गरेका थिए भने अहिले धेरै बिरामी आँखा पाकेर आउने गरेको डा. थकालीले जानकारी दिनुभयो । आँखा अस्पतालमा साउन ६ गतेदेखि २२ गतेसम्म २ हजार ३ सय २९ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएका छन् । साउन ६ गते करिब २७ प्रतिशत बिरामी आँखा पाकेर आएका थिए भने साउन २२ गतेसम्म ७१ प्रतिशत बिरामीमा आँखा पाक्ने रोग देखिएको छ ।

‘आँखा पाक्ने रोगबाट ४० वर्षभित्रका मानिस धेरै संक्रमण भएका छन्’, डा. थकालीले भन्नुभयो– ‘४० वर्षभित्रका मानिसहरु धेरै बाहिर परिचालन हुन्छन्, जसकारण धेरै संक्रमित हुन्छन् ।’ अस्पतालमा आँखा पाक्ने रोगको उपचार गराउन आएका बिरामीमध्ये १८ वर्ष मुनिका १ हजार ६३ जना छन् । यस्तै, १९ वर्षदेखि ३४ वर्षसम्मका ५ सय ८२, ३५ वर्षदेखि ४९ वर्षसम्मका ३ सय ८३ र ५० वर्षमाथिका ३ सय १ जना बिरामी आँखा पाक्ने रोगको संक्रमण भएर आएका छन् ।

डा. थकालीका अनुसार विद्यालयहरु बन्द गर्ने र कोरोनाको समयजस्तै ठाउँठाउँमा साबुनपानीले हातधुने स्थान बनाएर हातधुने गरे राम्रो यसको संक्रमण कम हुन्छ । ‘मनसुनको समय छ । घाम लागेको छैन । वातारण गुम्म छ’, डा. थकालीले भन्नुभयो– ‘यस्तो मौसममा भाइरस सक्रिय भएका कारण आँखा पाक्ने रोग आएको हो ।’ भिडभाडमा नगए, संक्रमित व्यक्तिले छोएको ठाउँमा छोएपछि हात धोएरमात्र आँखामा छोए, संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, तकिया प्रयोग नगरे, संक्रमित व्यक्तिको नजिक नगइरहे यो रोगबाट बच्न सकिन्छ ।

यो रोग २ देखि ३ घण्टामै सर्ने गरेको छ । अस्पतालमा आँखा पाक्ने रोग जाँच गर्न बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, सिन्धुली जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । आँखा पाक्ने रोग १० दिनदेखि २ हप्ताभित्र निको हुने डा. थकालीले बताउनुभयो । यसको विशिष्ट उपचार नभएकाले अस्पतालले एन्टिडटमा काम गर्दै गरेको डा. थकालीले बताउनुभयो ।

Exit mobile version