Home मुख्य समाचार ब्रह्मदिक् एकेडेमीमा निर्वाचन

ब्रह्मदिक् एकेडेमीमा निर्वाचन

मतदान गर्दै एक विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित बह्मदिक् एकेडेमीमा सोमबार हाउस क्याप्टेनको निर्वाचन भएको छ । निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्म अध्ययनरत ५ सय ७० विद्यार्थीले मतदान गर्नेछन् । गत बर्षदेखि विद्यालयले निर्वाचनको अभ्यास गर्न सुरु गरेको हो ।

निर्वाचनमा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी उम्मेदवार हुने व्यवस्था गरिएको छ । विद्यार्थीलाई निर्वाचनको प्रक्रियाका बारेमा बुझाउन र विद्यालयका विद्यार्थी प्रतिनिधि चयनका लागि निर्वाचनको अभ्यास गरिएको प्रिन्सीपल रामबाबु सापकोटाले जानकारी दिनुभयो । असार १९ गते उम्मेदवारी दर्ता गरी निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो ।

एउटा सेक्सनबाट एक छात्र र एक छात्रालाई उम्मेदवार हुने अवसर दिइएको थियो । ४ वटा हाउस क्याप्टेनका लागि निर्वाचन गरिएको र निर्वाचित विद्यार्थीलाई फरक फरक हाउसको जिम्मेवारी दिइने बताइएको छ । मकवानपुर जिल्लामा प्रदेश सभाको ४ वटा क्षेत्रलाई संकेत गर्ने गरी ४ वटा हाउसको क्याप्टेनको निर्वाचन गरिएको हो । दिउँसो १२ बजेदेखि मतदान सुरु गरी करिब २ घण्टाको अवधिमा मतदानको प्रक्रिया पूरा भएको र सोमबार नै नतीजा सार्वजनिक गरिने छ । विद्यार्थीबीच निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको छ ।

Exit mobile version