Home मुख्य समाचार शैक्षिक समन्वय समितिमा नेतृत्वमा हानथाप, दुई सातामा पनि सहमति हुन सकेन

शैक्षिक समन्वय समितिमा नेतृत्वमा हानथाप, दुई सातामा पनि सहमति हुन सकेन

नगरस्तरीय शैक्षिक समन्वय समितिको साधारणसभामा शिक्षकलाई सम्मान गरिँदै । फाइल तस्वीर ।

हेटौँडाः नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको नयाँ नेतृत्व चयनमा सहमति हुन सकेको छैन । वार्षिक साधारणसभा भएको दुई साता बितिसक्दा पनि नेतृत्व चयनमा सहमति हुन नसकेको हो । समितिको अध्यक्षमा ५ जना आकांक्षी छन् भने १४ जना सदस्यका लागि २७ जना आकांक्षी छन् । समितिको साधारणसभा असार ८ गते भएको थियो ।

२०४८ सालमा स्थापित नगरस्तरीय शैक्षिक समन्वय समितिमा अहिलेसम्म नेतृत्वका लागि निर्वाचन भएको छैन । यसअघि सहजै सहमतिमा नयाँ नेतृत्व स्थापित हुँदै आएको सन्दर्भमा समितिले निर्वाचनसम्बन्धी कार्यविधि नै नबनाएकोले सकेसम्म सहमतिको प्रयास गरिएको निवर्तमान अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । निर्वाचनमै जानुपर्ने भयो भने निर्वाचन कार्यविधि बनाइने निवर्तमान अध्यक्ष खतिवडाले बताउनुभएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा केशव सञ्जेल, भोगेन्द्र लुइटेल, नारायणप्रसाद भण्डारी, खेमराज लामिछाने र पुरुषोत्तम आचार्य आकांक्षी हुनुहुन्छ ।

Exit mobile version