Home कला ज्यूँदो सहिद

ज्यूँदो सहिद

कोरोनाको कहर गाउँ, शहर चारैतिर फैलिएको हुँदा मन-मस्तिष्क मजैसँग मैलिएको छ । घरभित्रै बस्नु परेकोले शरीरका छिद्रहरु बुझिएला र हातगोडा समेत कुँजिएला भन्‍ने डरले सताउन थालेको छ । चश्मा अड्काउँदा त झर्को मान्ने कान, अहिले मास्कसमेत बेर्नु परेकोले कतिखेर चड्काउला जस्तोगरी रहेको छ ।

राजकुमार लामिछाने हेटौंडा-४

मैले चाल पाएदेखि धुँवा-धुलो र शहरका मौसमी गन्धले नाक र मुख सधै मास्कद्वारा बन्द हुँदै आएका छन् । हामीले पनि खुल्ला भएर बाँच्न र प्रकृतिको स्वच्छ हावामा नाच्न पाउनु पर्दछ भन्दै उनीहरुले पटक-पटक गरेको आन्दोलन बिभिन्‍न आश्वासनमा टर्दै र पर सर्दै आएका हुन् । राजतन्त्रदेखि नै मास्कको भरमा भूमिगत रहँदै आएका नाक र मुख पार्टीहरु माथिको प्रतिबन्ध हटी गणतन्त्र आईसक्दा पनि उनीहरु माथिको मास्कबन्ध नहटेको हुँदा रिसाउनु स्वभाविकै हो ।

हाल झन् कोरोनाको कहरले गर्दा बिहान जुरुक्‍क उठेर घुरुक्‍क गेट नखोलुन्जेल, कसैसँग नबोलुन्जेल, नित्यकर्म नगरुन्जेल, दाँतमा ब्रस नघोटुन्जेल र उदरमा रासनपानी नठेलुन्जेल खोल्ने, त्यसपछि मास्कले नाक मुख छोप्ने कार्य चलिरहेको हुँदा कहिलेबाट यिनीहरुले पुनः आन्दोलनको घोषणा गर्ने हुन् थाहा छैन।

आँखाहरु त्यस्तै रीसले रन्किएर अरुलाई हेर्दा पनि फन्किएर परैबाट तर्ने र कसैको छेउमा नपर्ने गर्न लागेका छन् । खुट्टाको चाल आफैले चालपाई नसक्नु भएको छ । कोही आएको देख्‍नेबित्तिकै किनारा लाग्ने या अन्त कतै भाग्ने भन्‍ने बानीको विकास हुँदैछ । कसैलाई हेर्न नपरोस् भनेर बटार्दा बटार्दा घाँटी पनि उँटको जस्तो बाङ्गो हुन थालेको छ ।

हातका औँलाहरुको पनि कुनै भर छैन । साबुनपानीले धुँदा-धुँदा दुब्लाएर छुँदा पनि पिरिक्‍क जाने जस्ता भैसकेको छन् । सेनिटाइजर दल्दा र डुडुल्लो मल्दा हत्केला पनि पातलो हुँदै गैरहेको छ । यस्तै चाला हो भने हाड-छाला खिईएर हत्केलामा प्वाल पर्न के बेर ? गल्दै र ढल्दै जान लागेको यो शरीर कसरी सक्रिय बनाउने भन्‍ने चिन्ताले चिथोरेर चिट-चिट पसिना चुहिने क्रम चलिरहेको छ ।

जोस जाँगर हुन्जेल जस्तोसुकै परिस्थितिमा समेत शरीरको कुनै चिन्ता हुँदो रहेनछ । शरीर ओल्ड भएर फोल्ड हुँदै जान थालेपछि मथिङ्गलको मजेरीमा मजैसँग जवानीको रन्कोले फन्को मार्दो रहेछ । मुढो जस्तो बुढो शरीरलाई तन्काउन र तन्‍नेरीको आभास झल्काउन बिहानै उठेर घुम्ने र संगीतको भावमा झुम्ने गर्दै आएकोमा कोरोनाको कहरले लकडाउन भएर बाहिर निस्कन र खुला वातावरणसँग जिस्कन नपाएकोले पनि शरीरको चमक चाउरिएर चुमुर्किदै गएको भान नभएको होइन ।

किनमेल गर्ने निहूँमा कहिलेकाहिँ घरबाहिर निस्किँदा त प्रहरीले बाटो ढुक्‍ने, देख्‍ने बित्तिक्‍कै सिट्ठी फुक्ने गरेकोले बाहानाबाजी बनाएर उनीहरुसँग झुक्ने भन्दा झिसमिसे अँध्यारोमा मर्निङ्गवाकको कदम चालियो र उज्यालो हुँदा घरभित्र खुट्टा हालियो भने लकडाउन पनि छलिने, चाउरिएको अनुहार पनि चमकदार भएर बलिने भएकोले अघिपछि घरमै थन्किए पनि बिहान सखारै मर्निङ्गवाकमा तन्किने निर्णय गरियो।

बेलुकाको खाना खाएपछि कोरोनाबाट कुँजिएको शरीरको बारेमा मथिङ्गलमा मौलाएका यिनै कुरा खेलाउँदै, बिछ्‍यौनामा बेरिएर मन भुलाउँदै टेलिभिजनमा आँखा डुलाउँदै थिए…।

विहान मिरमिरेमा मुखमा मास्क मोरेर मर्निङ्गवाकको मेसो मिलाउँदै शहरको सडक हुँदै अगाडि बढे, घरको तीनतला माथिबाट कसैले प्लाष्टिकको पोकाभित्र गुटुमुटु पारेर फालेको फोहोर एक्‍कासी मेरो पैतालामा गढे, म चिप्लिएर भूईमा लडे, मेरो प्राणपखेरु उडेर परमधामको लागि चित्रगुप्‍तले पठाएको वायु यानमा चढे।

एकैछिनमा-“प्लाष्टिकको पोकाभित्र फालेको फोहोरमा चिप्लिएर मानिसको मृत्यु” भन्‍ने खबर शहरभरी फैलियो । मानिसको ओइरो लाग्न थाल्यो । मेरो परिवार र आफन्तजनहरु आक्रोशित मुद्रामा उपस्थित भए । म ठूलै राजनीति पार्टीको सदस्य भएको र परिवारहरु अलग-अलग पार्टीका सक्रिय सदस्य भएकोले सबै पार्टीहरुको समेत धुइरो बढ्दै गयो, घटना शिखरतिर चढ्दै गयो ।

तुरुन्त प्रहरी प्रशासन आएर मासलाई मत्थर पार्ने र जाम भएको सडक खोल्ने प्रयास नगरेका होइनन् ।तर, भयंकर भीडकोअगाडि प्रहरी प्रशासनको केही सीप चलेन ।

उपस्थित जनसागर-“महानगरले फोहोर व्यवस्थापनमा ध्यान नदिएको, प्लाष्टिकको पोकोभित्र फालेको फोहोरमा चिप्लिएर मानिसको ज्यान गएको, सरकार गैह्रजिम्मेवार भएको, सडकमा फोहोर फाल्न पाइदैन, निकम्मा सरकार चाहिदैन, पीडितलाई क्षतिपूर्ति भर, अपराधीलाई कारवाही गर…”भन्दै उर्लियो । मेरो पार्थिव शरीर पनि आन्दोलनकारीको काँधमा चढ्‍यो र शहरको परिक्रमा गर्न अगाडि बढ्‍यो ।

जुलुसलाई नियन्त्रणमा लिन सुरक्षाफौजले अश्रुग्यास, हवाई फायर र लाठीचार्ज गर्‍यो । अन्ततः पार्टीको पहलमा- “घटनाको सम्बन्धमा जाँचबुझ गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने, मृतकलाई सहिद घोषणा गर्ने, पीडित परिवारलाई राहतको व्यवस्था गर्ने, फोहोर फाल्ने अपराधी पत्ता लगाएर कडा कारवाही गर्ने” चारबुँदे सहमतिमा हस्ताक्षर भयो ।

मैले मनमनै सोचें- “कसैले रहर गर्दैमा सहिदको पगरी पाउने हो र ? पोलिटिक्सको पहुँच र पावर भए न सहिदको टावर पाउने हो ? झिंगाले टोकेर मरे झिंगे सहिद, डिंगाले टोकेर मरे डिंगे सहिद, कुत्ताले टोकेर मरे कुत्ता सहिद, जुत्ताले ठोकेर मरे जुत्ता सहिद अर्थात जे जसको बात लागेर मर्छ, त्यही नामबाट सहिदको खात लाग्ने न हो ? सहिद घोषित हुनको लागि चाहिने मूल मन्तर भनेको पोलिटिक्सको जन्तर हो।मर्निङ्गवाकमा हिंड्दा फोहोरमा चिप्लिएर मरेपनि पार्टीको पहुँचले सहिदको लालमोहर लाग्ने भएपछि मैले मृत्युप्रति बिस्मात किनगर्नु ?”

त्यत्रा दल उपस्थित भए, नारा लगाउँदै आर्यघाटसम्म गए, पार्टीको झण्डा झ्याप्प ओडाए, शरीर पुरिने गरी फूलमाला चढाए, यो भन्दा राम्रो मरण अरु के हुन सक्छ ? त्यसमाथि पनि सहिदको सम्मान।

एकमनले मलाई कताकता हाँसो नउठेको पनि होइन- मैले पार्टीको लागि त्यत्रो योगदान के गरेको थिएँ र ?पार्टीले मेरो यत्रो मूल्याङ्कन गर्‍यो ? फेरी आफैंलाई प्रतिप्रश्‍न गर्छु-हुन त मैले चिनीमायाको चिया पसलमा गफ हुँदा र भीममायाको “भद्रगोल रेष्टुरेन्ट एण्ड बार”मा शक्तिजलले मुख धुँदा हाम्रो पार्टी इमानदार छ, मन्त्रीज्यूहरु पनि सानदार छन्, देशलाई चाडै स्वीटजरल्याण्ड पार्छन् भनेर बत्तिसा बजारेकै हो, आन्दोलनमा पछिपछि हिडेकै हो, सडकका विभिन्‍न गल्ली एवं फुट पाथे चोकमा पार्टीको समर्थनमा चर्काचर्की गरेर विपक्षीका कार्यकर्ताहरुसंग भिडेकै हो । यो भन्दा ठूलो लगानी पार्टीको लागि अरु के हुन सक्छ ? फेरी मन्त्रीज्यू कहाँ बेलाबेला यसो मेसो मिलाएर बिन्ति बिसाउन जाँदा र संगै बसेर रमाइलो गर्दै जलपान खादा तपाईको योगदान महान छ भनेर भन्‍नु भएकै हो । आफैले गरेको निस्वार्थ योगदान आफैले देख्‍न नसकिने पनि त हुन सक्छ नि ? जेहोस् मेरो पार्टीप्रतिको योगदान साच्चै महान रहेछ भन्‍ने कुरा मरेपछि मात्र छर्लङ्ग भयो।

गठित आयोगका सदस्यहरु बीच जाँचबुझ गर्न फिल्डमै जाने की दुई चारजना होटलमै बोलाएर भत्ता खाने भन्‍ने विषयमा ब्यापक छलफल चल्यो । पीडितका परिवार र पत्रकारहरुले चाल पाए भने” संचार माध्यममा फिजाउँलान् लोकले गिज्याउलान्” भन्‍ने डरले टोली फिल्डमा पुगेर सबैका कुरा सुन्‍ने र त्यसलाई प्रतिवेदनमा उन्‍नेकाम सुरु भयो। सोहीसन्दर्भमा सडकमा फोहोर फाल्ने र मलाई चिप्ल्याएर ढाल्ने घरधनीलाई सोधियो

टोली-तपाईको परिवारले घटनाको अघिल्लो दिन के के खानु भएको थियो ?
घरधनी-बासमति चामलको भात,खसीको मासु, मुगको दाल, फुजीको स्याउ र अर्गानीक च्याउइत्यादी हजुर।

टोली- तपाईले प्लाष्टिकमा पोको पारेर सडकमा फोहोर किन फालेको ?
घरधनी-हामीले फालेको होइन, बहालमा बस्नेको चाल हो।आफू पनि जान्दैन, हामीले भनेको पनि मान्दैन।अब म यसलाई घरबाट निकाली दिन्छु हजुर।

बहालमा बस्नेसंगपनि यसैगरी प्रश्‍न राखियो

टोली- तपाईको परिवारले घटनाको अघिल्लो दिन के के खानु भएको थियो ?
बहालबाला- छोरीले तोरीको साग किनेर ल्याएकी रहिछन् । सागसंग मकैको हलुवा खाइयो हजुर ।

टोली- प्लाष्टिकमा पोको पारेर सडकमा फोहोर तपाईहरुले फालेको भनेर घरधनीले भनेका छन् कसो हो ?
बहालवाला-फाल्न त के पेटमा चारोहाल्न पनि अपुग हुन्छ । हामीले सडकमा फोहोर फाल्ने गरेको छैन, डस्पिनमा लगेर हाल्ने गरेको छ हजुर ।

घरधनी र बहालमा बस्नेको ब्यहोरा फरक परेकोले बरामद भएको फोहोर जाँच गर्न पठाइयो । परीक्षण हुँदा-उक्त फोहोरमा घरधनीले खाएको खाना अनुसारकै पदार्थको परिमाण भेटिएको भन्‍ने उल्लेख भएकोले सो फोहोर घरधनीले फालेको ठहर गर्दै आयोगले आफ्नो प्रतिवेदन बुझायो।

मन्त्रालयबाट मेरो परिवारलाई बोलाइयो, परिवार उपस्थित भए । छानविन आयोगको प्रतिवेदनको व्यहोरा सुनाउँदै-फोहोर फाल्ने अपराधी पत्ता लागेको र दस लाख रुयैयाँ क्षतिपूर्ति सहित सहिदको सम्मान पाउनु हुनेछ भनेर परिवारलाई भन्दै निर्णय लेख्दै हुनुहुन्थ्यो, त्यतिनै बेला म झल्याँस्स बिउँझिएछु । यसो हेर्दा-छर्लङ्ग उज्यालो भैसकेको र दुधवाला दाई- “लौ हजुर दुध आयो” भनेर ढोकाको बेल बजाई रहनु भएको रहेछ ।

अहिले सम्झिदा आङ्गनै सिरिङ्ग भएर आउँछ । धन्‍न निर्णय हुनुभन्दा पहिलै बिउँझिएछु, नत्र फोहोरमा लालमोहर लागेको थप ज्यूँदो सहिद घोषित हुने थिए । इति

Exit mobile version