Home कला ‘नगाईएको कोरस’ कथा सङ्ग्रह समाजको ऐना

‘नगाईएको कोरस’ कथा सङ्ग्रह समाजको ऐना

समाजका मसिना विषयवस्तुलाई कथानकको रुपमा टिप्दै सरल ढंगबाट गम्भीर सन्देश प्रवाह गराउन सक्ने कथाकार सुरज धड्कन दार्जलिङे बलशाली र पोख्त कथाकार हुनुहुन्छ । सशक्त कथा लेखनमा लागी पर्नु भएका सुरज धड्कनद्वारा लेखिएको ‘नगाईएको कोरस’ कथा सङ्ग्रहमा ११ वटा कथा समाविष्ट गरिएको छ ।

डीबी बर्तौला

दार्जलिङकै परिवेशमा लेखिएका कथाहरुमा त्यतैको जीवनशैली र भोगाईको प्रत्यक्ष प्रयोग गरिएको पाईन्छ । गोर्खाल्याण्ड प्राप्तिका लागि गरिएको संघर्ष र पीडाहरुको स्पष्ट चित्रहरु कथामा देखाईएको छ । राजनीतिक खिचातानी, आपसी मनमुटाव र व्यक्तिगत ईष्र्यालगायत कुराबाट एकता कमजोर भएको कुरा देखाईएको छ । निरंकुश शासकहरु जनताको गरिबीलाई पैसाले किन्न खोजेको यथार्थ प्रस्तुत गरिएको छ ।

सरल ढंगबाट मृत्युको खेल खेलिएको, गड्यौँलालाई जनता मानिएको र आफ्नो भूमिको प्रप्तिको लागि जनता लागी परेको कुरा कथाले प्रष्ट्याएको छ । आफ्नो थातथलो छोडेपछि जोकोहिको मृत्यु हुने कुरालाई यसरी देखाईएको छ । ‘यहि माटो छोडेर निस्केपछि गड्यौँलाको मृत्युलाई कसैले रोक्न सक्दैन ।’ (गड्यौँला र गोर्खाल्याण्ड पेज नं. २५) ‘अनु दिदी कथामा अनुहरुको रहस्यमय रुपमा हराएको कुरा देखिन्छ । श्रीमती घरमा भएर पनि अरु केटीलाई जिस्काउने नेपाली समाजका पात्रहरुलाई ‘अकथित कथाले छर्लङ्ग पारको छ । अहमले भरिएको हेडसरको आफ्नै छोरी ऋतिकाले शिर झुकाउन बाध्य पारेकी छे । अरुको बेईज्जत गर्न खोज्ने हेडसर अन्तमा ग्लानीले भरिएका छन् ।

मानसिक रुपले विक्षिप्त हेडसरको चरित्रलाई ‘हेडसरको कोट’ कथाले प्रष्ट पारेको छ । यौनका अनौठो चाह रेणु अन्टीमा देखिन्छ । उनी अतृप्त रहेको कुरा ‘एउटा अप्ठ्यारो कथा’ भित्र देखाईएको छ । पैसाको आडमा धर्मराजहरु निरंकुश बन्दै गएको र जनतालाई गुन्डागर्दी शैलीमा आफ्नो आधिपत्य जमाएका छन् । निलिमा भाउजु जस्ता पात्रहरु जनताको चेतनाको स्तरलाई उकास्न खोजे तापनि जनता एक पेग रक्सीमा ईमान बेच्न तयार भएको तितो सत्यलाई ‘भ्यागुता’ कथामार्फत उजागर गरिएको छ ।

‘दिन धाएको रात’ कथामा शैलेन्द्र र जिनीताको कथा छ । उ भन्ने भाई पात्रले अर्काकी श्रीमती भगाएको छ । शैलेन्द्रले आफ्नै श्रीमती जिनीतामाथि आशङ्का गरेको कुरा प्रष्ट भएको छ । ‘फोटो’ कथा नेपाली समाजको यथार्थतालाई देखाउन खोजिएको उत्कृष्ट कथा हो । पल्लवीको घर नबिग्रियोस् भनेर कल्पनाले सुरजको बिगत कोट्याउन चाहँदिन । उनको महानताले नै कथा उत्कृष्ट बनेको छ । कल्पनासँग अवैध सम्बन्ध राख्ने सुरजले शिर झुकाएको छ र अन्तमा हारेको अनुभव गरेको पाईन्छ । ‘समय–संस्करण’ आमा राधाले सँगै रहेर पनि व्यस्त छोरा दिवाकरसँग गफ गर्न नपाएको मनको वह पोख्न नपाईको यथार्थ पस्केको पाईन्छ । अहिलेको सूचना र प्रविधिको युगले मानिसको सम्बन्धमा विकराल रुप लिएको तितो सत्यलाई सुरज धड्कनले यसरी प्रस्तुत गरेका छन् ।
–‘साईवर युगको त्रासद ध्वनिबीच हराएको थियो आत्मीयताको स्वर कतै ।
–(समय–संस्करण, पेज नं. ९१)
अन्तमा आमाले छोरालाई आफ्नो कुरा ई–पत्रमार्फत पठाउन खोजेको अत्यन्त दुःखद दृष्यलाई कथाले समेटेको छ । कल्पनात्मक, उडन्ते भूतको कथा ‘टुकटुके दाजुको भूत’ कथा हो ।

समग्रमा नेपाली समाजको यथार्थ कथाहरु समेटिएको बालबालिकाको बाल सुलभ र आत्मीयताको प्रदर्शन गरिबीको समस्या, राजनैतिक अस्थिरता, मानवीय सम्बन्धमा ह्रास, नारी हिंसाको स–साना दृष्य र केही मनोरञ्जनात्मक अनुभूतिजन्य काल्पनिक कथाहरु भित्रका सपाट सौन्दर्य कथामा पाईन्छ । सरल, सहज र उत्कृष्ट भाषाशैलीको प्रयोग गर्दै लेखिएका कथाहरु व्यक्तिको भावनासँग प्रत्यक्ष प्रभाव पार्ने कुराहरु हुन् । खारिएका लेखक धड्कनको कलममा जादुयी तागत भेटिन्छ भने कथामा पाठकलाई तान्न सक्ने प्रवल शक्ति भेटिन्छ । यसर्थ कथा बनोटमा सचेत सुरजका कलमहरुले अझै उत्कृष्ट कथा लेखनमा अगाडि बढ्न सकोस् । सफलताको सदैव शुभकामना ।

(लेखक साहित्य सङ्गम मकवानपुरका सचिव हुनुहुन्छ ।)

Exit mobile version