Home अन्तरवार्ता “प्रदेश सरकारले बसाईसराईमा ध्यान दिनुपर्ने देखिन्छ”

“प्रदेश सरकारले बसाईसराईमा ध्यान दिनुपर्ने देखिन्छ”

ढुण्डीराज लामिछाने निर्देशक राष्ट्रिय तथ्यांक कार्यालय

ढुण्डीराज लामिछाने
निर्देशक
राष्ट्रिय तथ्यांक कार्यालय

राष्ट्रिय तथ्यांक कार्यालयले गत बुधबार हेटौँडामा २०७८ सालको जनगणनाको बागमती प्रदेशस्तरीय तथ्यांक सार्वजनिक ग¥यो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा सार्वजनिक गरिएको प्रदेशस्तरीय तथ्यांकले आगामी दिनमा प्रदेशको नीति तथा योजना बनाउन महत्वपूर्ण आधार हुने राष्ट्रिय तथ्यांक कार्यालयको अपेक्षा छ । प्रदेशस्तरीय तथ्यांकको सार्वजनिकीकरण र यसको महत्वको विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः प्रदेशस्तरीय तथ्याङ्कको सार्वजनिक गर्नुपर्ने आवश्यकता किन पर्यो र कुन–कुन विषयलाई बढी जोड दिएर यो तथ्याङ्क सार्वजनिक गर्नुभयो ?

लामिछानेः सम्मानीय प्रधानमन्त्री ज्यूले बैशाख १० गते राष्ट्रियस्तरको तथ्याङ्कको सार्वजनिक गर्नुभयो । नीति तथा योजनामा यो तथ्याङ्कहरुलाई समेटोस् भन्ने उद्देश्यले हामीले हत्तार हत्तार गरी किताब तयार पारेर सातवटै प्रदेशमा केही दिनको अन्तर पारेर प्रदेशस्तरीय तथ्याङ्क सार्वजनिक गर्यो । प्रदेशले बनाउने नीति तथा योजनाहरु बनाउँदा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामीले राखेका छौँ। वास्तवमा अहिलेको युग निकै फरक छ र जनसांख्यिक संरचनाहरुमा पनि निकै परिवर्तन भएका छन् । नेपालको सात वटै प्रदेशमा प्रविधिको निकै विकास भइसकेको, युवा पुस्ताहरु सहरकेन्द्रित भएका, गाउँहरु खाली हुँदै गएको, वृद्धवृद्धाहरु र बालबालिकाहरु मात्रै गाउँमा बस्ने गरेको र धेरै युवा जनशक्ति विदेश पलायन भएको अवस्था योे तथ्याङ्कले देखाएको छ । राज्यले रोजगारीको अवस्था सिर्जना गरेर वा शिक्षाको दायित्व लिएर, र सीप तथा तालिम दिएर विदेश पलायन भएका जनशक्तिलाई प्रयोग गर्न सकेमा देश विकासमा सहयोग हुन्छ । नीति तथा योजनाहरु बनाउँदै गर्दा र बजेट भाषण हुँदै प्रदेशले यो कुराहरुमा ध्यान दिनुपर्छ भनेर हामीले प्रदेशस्तरीय तथ्याङ्क सार्वजनिक गरेका हो ।

समाजः यो पटकको जनगणनाको मुख्य विशेषताहरु के के पाउनुभयो ?

लामिछानेः यो पटकको जनगणनाको मुख्य विशेषता भनेको जनसांख्यिक संरचनात्मक परिवर्तन देखिन्छ । जन्मदर घट्दै गएको कारणले बालबालिकाको जनसंख्या पनि घट्दो देखिन्छ भने जेष्ठ नागरिकको जनसंख्या बढ्दै गएको छ । नेपालमा अहिले बसाईसराईको अवस्था एकदम भयवाह हुँदै गएको छ । राज्यले अब बसाईसराईमा निकै ध्यान दिनुपर्ने अवस्था छ । अहिले प्रजनन् दर घटेर २ भन्दा तल गइसकेको छ ।

समाजः यसले जनसंख्या सन्तुलनमा कस्तो असर गर्छ ?

लामिछानेः ९० वर्षको इतिहासमा नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम भएर ०.९३ प्रतिशत पुगिसक्यो । हामीले विदेश पलायन हुने युवाहरुलाई रोक्न सकेनौँ भने यो वृद्धिदर ऋणात्मक हुँदै जाने देखिन्छ । यही अवस्था हुँदै जाने हो भने राज्यलाई आवश्यक पर्ने मानवस्रोत पाउन छोड्नेछ ।

समाजः यो तथ्यांकलाई हेर्दा बागमती प्रदेशको जनसांख्यिक लाभ र चुनौती के–के छन् ?

लामिछानेः जनसांख्यिक लाभ बागमती प्रदेशमा बढी नै देखिन्छ । तर बागमती प्रदेशलाई समग्रमा नहेरी उपत्यकाको ३ जिल्लालाई छुट्याएर हेर्दा चाहिँ अन्य प्रदेशभन्दा कमजोर देखिन्छ । बागमती प्रदेशमा साक्षारता दर बढी भए तापनि जन्मदर्तामा पनि अन्य प्रदेश भन्दा कम रहेको छ । बागमती प्रदेशमा अहिले करिब ७ प्रतिशत बेरोजगारी रहेको छ ।

समाजः यो तथ्याङ्क सार्वजनिक गर्दै गर्दा तपाईहरुले प्रदेश सरकारलाई के–के कुरामा ध्यान दिन सुझाव दिनुभयो ?

लामिछानेः प्रदेश सरकारले शुरुमा बसाईसराईमा ध्यान दिनुपर्ने देखिन्छ । काठमाडौं उपत्यका बाहेकका हिमाल, पहाड र तराईमा भएका जनसंख्यालाई वितरणमुखी कार्यक्रमभन्दा पनि कृषिमा जोड दिएर, कृषिमा आधुनिकीकरण गरेर, उनीहरुलाई अनुदान भन्दापनि सीपहरु दिएर र कृषिमा ठूलो लगानी गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । युवाहरुको विदेश पलायनलाई रोक्नका लागि प्रदेशले शिक्षामा बढी लगानी गर्नुपर्ने देखिन्छ ।

समाजः यो तथ्याङ्कलाई पालिकाहरुलाई कत्तिको अध्ययन र विश्लेषण गर्नसक्ने अनुमान गर्नुभएको छ ?

लामिछानेः पालिका भनेको स्थानीय सरकार हो र केन्द्रमा भएका सबै मन्त्रालयको काम स्थानीय तहले गर्छ भनी राज्यले सोच्यो । तर पालिकाहरुमा त्यो किसिमको सीप, क्षमता र दक्षता भएका जनशक्तिको अभाव देखिन्छ । मेरो विचारमा उनीहरुलाई अहिले सार्वजनिक भएका तथ्याङ्क पनि कसरी हेर्ने भन्ने थाहा छैन ।

Exit mobile version