Home कला आँचलको वृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सुरु

आँचलको वृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सुरु

कार्यक्रमको उद्घाटन गर्नु हुदैँ उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा शुक्रबारदेखि वृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम–२०८० सुरु भएको छ । पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा दुई दिने कार्यक्रम सुरु भएको हो ।

उपमहानगरप प्रमुख लामाले कला, संस्कृति र परम्पराको जगेर्ना गर्न कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पहिलो दिन आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता भएको छ । प्रतियोगितामा हेटौंडा–५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालय प्रथम, हेटौंडा–४ मा रहेको ब्रह्मदिक एकेडेमी द्वितीय, हेटौंडा–५ मा रहेको जीएस निकेतन तृतीय र सिद्धार्थ शिशु सदन सान्त्वना भएका छन् ।

प्रतियोगितामा १९ विद्यालयका विद्यार्थी समूहले नृत्य प्रस्तुत गरेका थिए । आधारभूत तहस्तरीय नृत्य प्रतियोगितामा पर्वत राई, पेमा लोप्चन र प्रलय चौलागाईले निर्णायकको भूमिका निर्वाह गर्नुभयो ।

कार्यक्रममा लैङ्गिक अधिकार हाम्रो सरोकार शीर्षकमा बहस गरिएको छ । रजनी पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा अधिवक्ता मदन दाहाल, सामाजिक अभियन्ता कमला सुवेदी र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका चन्दा व्यञ्जनकारले बहसकर्ताको भूमिका निभाउनुभयो । बहस कार्यक्रममा मुना अर्यालको अभिभावकत्व रहेको थियोे ।

सुर संगमबारे नीरा शर्माले सहजीकरण गर्नुभयो भने प्रमेन्द्र महर्जनले अभिभावकत्व निभाउनुभयो । यसैगरी, अन्तिम दिन शनिबार लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज शीर्षकमा रचना वाचन, साहित्यमा लैङगिक सवाल, हास्यव्यङ्ग्य प्रस्तुति र कविता, गजल, मुक्तक, सूत्रकथाबारे सहजीकरण गरिनेछ ।

Exit mobile version