हेटौँडाः तेश्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता सोमबारदेखि हेटौँडामा सुरु भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १५ विजयी भएको छ । उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोलअन्तरले पराजित गर्दै १५ नम्बरले विजयी सुरुवात गरेको हो । प्रतियोगितामा पहिलो हाफको सुरुवातमै ३ नम्बरले पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो । ३ नम्बरका लागि बिनित लामाले पोनाल्टीमार्फत टिमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको १५ नम्बर वडाले ३१औं मिनेटमा विजन भोलनको गोल मद्दतले खेलमा बराबरी गर्न सफल भयो । खेल बराबरी गरेलगत्तै १५ नम्बरका ऋषि मोक्तानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मोक्तानले ३४ औं मिनेटमा गोल गर्दा पहिलो हाफ २–१ को स्थितिमा टुंगिएको थियो । पहिलो हाफको अग्रतासँगै हौसिएको १५ नम्बर वडाले दोश्रो हाफमा थप १ गोल गर्दै जित सुनिश्चित पा¥यो । दोस्रो हाफ सुरु भएको १० औं मिनेटमा १५ नम्बर वडाका लागि विश्वास मोक्तानले गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेको वडा नम्बर १५ का खेलाडी ऋषि मोक्तान “म्यान अफ द म्याच” घोषित भए । उनलाई वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले म्यान अफ द म्याचको ट्रफि दिनुभयो । हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०÷५० हजार, सर्वोत्कृष्ट खेलाडिलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५÷५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार हेटौँडा ६ र १० बीच खेल हुने आयोजकले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख मीनाकुमारी लामाले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख लामाले खेलकुदको विकासका लागि उपमहानगरपालिका सधैं लाग्ने बताउनुभयो । उहाँले पुर्वाधार निर्माणको चरणमै रहेको पिप्ले–क्याम्पा रंगशालालाई थप व्यवस्थित बनाउनका लागि उपमहानगरपालिका लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, नगरका विभिन्न वडाका अध्यक्षहरु, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको आतिथ्य रहेको थियो ।