हेटौँडाः मकवानपुरकी विन्दवासिनी कंशाकार प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीमार्फत कंशाकारलाई प्रतिनिधि सभा सदस्य सिफारिस गरेको थियो । कंशाकारलाई सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोमबार सपथ गराउनुभएको छ ।
१० वर्षअघि एसीड आक्रमणमा पीडित कंशाकारलाई रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सूचिमा राखेको थियो । यसअघि समानुपातिक सूचिबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठको मोवाइल संवादमा २ करोड रुपैयाँ मागेको सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो । श्रेष्ठ कारवाहीमा परेर रिक्त रहेको पदमा कंशाकारलाई पार्टीले सिफारिस गरेको थियो ।
कंशाकार प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको संख्या ३ पुगेको छ । यसअघि प्रत्यक्षतर्फ निर्वाचित दीपक बहादुर सिंह र महेशकुमार बर्तौला प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
