हेटौँडाः आइतबार हेटौँडामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस–२०८० को अवसरमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आयोजना तथा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले रक्तदान गरेर कार्यक्रम उद्घाटन भएको थियो ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सहकारीका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको उपस्थिति रहेको थियो ।
रक्तसञ्चार केन्द्र हेटौंडामा ७० युनिट रगत स्टक रहेको रक्तसञ्चार केन्द्रका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । केन्द्रमा रगतको मात्रा धेरै भएपछि लहानमा एक सय युनिट रगत पठाइएको उहाँले बताउनुभयो । चितवनमा पनि रगतको अभाव भएकाले रगत संकलन गरेर चितवन पठाउने तयारी भइरहेको उहाँको भनाई छ । पछिल्लो समय नियमितजस्तै रक्तदान कार्यक्रम हुने गरेको जानकारी गराउँदै रिमालले सोमबार बागमतीमा रक्तदान कार्यक्रम हुने बताउनुभयो ।
