Home मुख्य समाचार खोजमूलक समाचार असार १० गतेभित्र उपलब्ध गराउन आग्रह

खोजमूलक समाचार असार १० गतेभित्र उपलब्ध गराउन आग्रह

हेटौंडाः बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आउँदो असार १० गतेभित्र खोजमूलक समाचार उपलब्ध गराउन महिला पत्रकारहरुलाई आग्रह गरेको छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक र लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको खोजमूलक समाचार संकलन, प्रकाशन/प्रसारण गरी सामाजिक विकास मन्त्रालयमा कागजातसहित उपलब्ध गराउन आग्रह गरिएको हो ।

सामाजिक विकास क्षेत्रका कार्यक्रमको खोजमूलक पत्रकारितालाई जोड दिनुपर्ने बताइएको छ । उक्त विषयमा कानुनबमोजिम समाचार संकलन र प्रकाशनका लागि महिला पत्रकार र प्रदेश सरकारबीच सम्झौता भएको छ । महिला पत्रकारले एउटा खोजमूलक समाचार प्रकाशन गरेबापत ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अधिकतम ३ वटा खोजमूलक समाचारबापतको रकम भुक्तानी हुने जनाइएको छ ।


खोजमूलक समाचार तयार गर्दा सामाजिक विकास मन्त्रालयबाट सम्पादन भएका कार्यक्रमले पारेका प्रभावहरुको बारेमा हुनुपर्ने सामाजिक विकास मन्त्रालय उच्च शिक्षा प्रविधि अनुसन्धानका उपसचिव गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो । मन्त्रालयमा पेश भएका फिचर समाचारहरु आवश्यकताअनुसार छपाई वितरण गर्ने व्यवस्था मन्त्रालयले मिलाउनेछ ।

फिचर समाचारको साथमा मन्त्रालयलाई छुट्टै सुझाव पेश गर्न सकिनेछ । प्राप्त सुझाव मन्त्रालयको आन्तरिक प्रयोजनका लागि प्रयोग गरिनेछ । बागमती प्रदेशका सामाजिक क्षेत्रका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसंख्यक र पाठक वर्गलाई लाभान्वित फिचर समाचार हुनुपर्ने बताइएको छ ।

बागमती प्रदेशका नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, चितवन, सिन्धुली, रामेछाप, भक्तपुर, धादिङ, ललितपुर, रसुवा र काभ्रेपलाञ्चोक जिल्लाका २/२ जना पत्रकारलाई उक्त विषयमा अनुशिक्षण दिँदै यस्तो बताइएको छ । महिला पत्रकारहरुको क्षमता विकास, पत्रकारितामा तालिमको आकर्षण, व्यावसायिक पत्रकारिताको विकासमा टेवा र सामाजिक विकास क्षेत्रका सवालहरु उठानमा सहयोग पुग्ने बताइएको छ ।

यसैगरी सञ्चारिका समूह बागमती प्रदेशकी संयोजक सरिता दाहालले महिला पत्रकारहरुको पेशागत, व्यक्तिगत र अनलाइन सुरक्षाबारे सहजीकरण गर्नुभयो । नेतृत्व र अवसरबारे सहजीकरण गर्नुहुँदै महिलालाई सुरक्षाको सवालमा पुरुषलाई भन्दा बढी चुनौती रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा पत्रकार महिलाको उपस्थिति वि.स. २००८ बाट भएको देखिन्छ । नेपाल पत्रकार महासंघका अनुसार देशभर १३ हजार २ सयको हाराहारीमा महिला पत्रकार छन् । पत्रकार अखण्ड भण्डारीले समाचारको परिचय, संकलन, लेखन, शब्दको छनौटबारे सहजीकरण गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीको सभाध्यक्षमा कार्यक्रम भएको हो । सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा एक दिवसीय अनुशिक्षण कार्यक्रम भएको हो । महिला पत्रकारहरुले प्रदेश सरकारसँग थप सहयोगको अपेक्षा गरे सहयोग गर्ने प्रतिबद्धता मन्त्री मोक्तानले व्यक्त गर्नुभयो । मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा कार्यक्रम भएको हो ।

Exit mobile version