Home मुख्य समाचार विद्युत प्राधिकरण हेटौँडा केन्द्रको कालोसूचिमा ५४२ः वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट

विद्युत प्राधिकरण हेटौँडा केन्द्रको कालोसूचिमा ५४२ः वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट

हेटौँडाः नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले कालोसूचिमा रहेका ५ सय ४२ ग्राहक विवरण सार्वजनिक गर्दै वक्यौता भुक्तानी गर्न भनेको छ । आइतबार कालोसूचिमा परेका ग्राहकको तीन पुस्ते विवरण सार्वजनिक गर्दै वितरण केन्द्रले असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काटेको ६ माहिनासम्म पनि महसुल भुक्तानी नगरे स्वतः कालोसूचिमा पर्ने व्यवस्था छ । हेटौँडा वितरण केन्द्रले ग्राहस्थ ४६४, व्यापारिक ३, औद्योगिकमा ६७, सिँचाई १, गैरव्यापारिकमा २, यातायात ३, खानेपानी २ गरी कुल ५४२ ग्राहक कालोसूचिमा परेको हेटौंडा वितरण केन्द्रका हरि खड्काले जानकारी दिनुभयो । कालोसूचिमा रहेका ग्राहकबाट हेटौँडा वितरण केन्द्रले ९२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ १२ पैसा असुल गर्नुपर्नेछ ।

प्राधिकरण केन्द्रकै निर्देशनमा देशव्यापीरुपमै वक्यौता असुली गर्ने उद्देश्यसहित कालोसूचि तयार पारेर सार्वजनिक गर्ने कार्य भएको हो । हेटौँडा वितरण केन्द्रले इन्जिनियर ललितनारायण चौधरीको संयोजकत्वमा समिति नै गठन गरेको छ । वक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको तीन पुस्ते विवरणसहित जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, स्थानीय पालिका र वडा कार्यालयहरूमा पठाउने तयारी भइरहेको पनि प्राधिरकणले जनाएको छ । वक्यौता भुक्तानी नगरे सरकारी सेवा, सुविधाबाट बञ्चित गराउने गरी कारवाही अगाडि बढाउने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

Exit mobile version