Home मुख्य समाचार उद्यमशीलताबिना मुलुक समृद्ध हुँदैनः पूर्वमुख्यमन्त्री पौडेल

उद्यमशीलताबिना मुलुक समृद्ध हुँदैनः पूर्वमुख्यमन्त्री पौडेल

उद्यमशीलता तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्यमशीलताको विकास नभई मुलुक समृद्ध नहुने बताउनुभएको छ । शुक्रबार हेटौंडा ४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समितिको व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको एक दिवसीय उद्यमशीलता तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

हामीले उद्यशीलता नचाहेर घर अगाडिको बाटो ढलान गर्नमात्र माग गरिरहेको उहाँको धारणा छ । ‘मलाई उद्यमशीलता बनाइयोस्, मेरो उत्पादनलाई बिक्री वितरण गरिने व्यवस्था गरियोस्, मलाई संगीतमा सहयोग गरियोस्, विभिन्न साहित्य, कला र संस्कृति यी तमाम कुरा हाम्रा पछाडि छन्’, उहाँले भन्नुभयो– ‘जबसम्म ती सबै कुराको विकास साथसाथ जाँदैन तबसम्म तपाईंको विकासले कुनैपनि काम गर्दैन ।’ तपाईंको खुट्टामा जुत्ता छैन् र तपाईंको त्यो हैसियत छैन तर तपाईंको घर अगाडि बनाएको पिचले के गर्छ भन्दै सहभागीलाई प्रश्न गर्नुभयो ।

पूर्वमुख्यमन्त्री पौडेलले आफू १० वर्ष हेटौंडाको मेयर हुँदा पहिलो र दोस्रो पुस्तालाई प्रत्याभूत हुनेगरी विकास गरेको दावी गर्नुभयो । अहिले ३० वर्ष भइसकेकाले तेस्रो पुस्तालाई कत्तिको परिवर्तन भयो भन्ने विषयमा जानकार नहुने उहाँको भनाई थियो । साढे तीन वर्ष मुख्यमन्त्री हुँदा पनि ठूला विकासको आयोजना अघि बढाएको उहा“ले दावी गर्नुभयो । अहिले बागमती प्रदेश सरकारले उद्यमशीलताको लागि वृहत् भवन निर्माण गरेको जानकारी दिनुभयो । एक वर्षभित्र सम्पूर्ण उद्योगका वस्तुहरु त्यहाँ लगेर बिक्री वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

अझै पनि देशमा दूधको बजार व्यवस्था नभएकाले उत्पादित दूध नबिकेर सडकमा फाल्नुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले झण्डै ४५ करोडको लागतमा दूध फ्याक्ट्री खोलिरहेको छ र पाउडर प्लान्ट बनाइरहेको जानकारी दिनुभयो । उचित मूल्य नपाएर उत्पादित तरकारी फ्याक्नुपर्ने किसानलाई सहज बनाउन हेटौंडाको राप्तीपुल नजिक तरकारी थोक बजार बनिरहेको बताउनुभयो ।

गौरीटारमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनिरहेको पूर्वमुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पताल सञ्चालनमा ल्याइएपछि सबै खालका सेवा उपलब्ध भइरहेको उहाँले बताउनुभयो । २÷३ वर्षमा हेटौंडालाई परिवर्तन गर्ने र रुपान्तरण गर्ने कार्य सरकारले गरिरहेको उहाँको धारणा छ । जति सार्वजनिक कार्यक्रम बोल्छ, त्यति नै काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

यस्ता कार्यक्रमले स्थानीय वस्तुलाई बजारीकरण गर्न सहयोग पुग्ने उहाँको भनाई छ । स्थानीयले तहले पनि स्थानीय उत्पादनलाई सबैभन्दा पहिलो प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो । यस्तै स्थानीय वस्तुको प्रयोग गर्छाैं र विदेशी वस्तुहरु प्रयोग गर्दैनौं भनी प्रतिबद्धता जनाउन पनि उहाँले आग्रह गर्नुभयो । स्थानीय स्तरमा उत्पादन भएका जति स्थानीय तहले पनि प्रयोगमा ल्याउँछ भन्ने दावी गरे हजारौं उद्योगहरु चल्ने धारणा पौडेलले राख्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले हाम्रो पुँजीबाट उत्पादन भएका वस्तुहरु हामीले नै उपयोग र बजारीकरण गर्नुपर्ने बताउनुभयो । जसले उद्योगी व्यवसायीलाई प्रोत्साहन मिल्ने बताउनुभयो । जसलाई प्रबद्र्धन र विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रदर्शनीमा स्थानीय उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु राखिएको थियोे । नेपाली पोशाकदेखि खाना, गहना, मन्दिर, मह, घिउ, कुशन, डललगायतका स्थानीय वस्तुहरु प्रदर्शनीका लागि राखिएका थिए । प्रसिद्ध लोकदोहोरी गायक बद्री पंगेनीले कार्यक्रममा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हेटौंडाका १९ वडाका स्थानीय कलाकारहरुको पनि प्रतियोगिता प्रस्तुति रहेको थियो । प्रदर्शनी लागि १९ वटा वडाहरुमा उत्पादन भएका वस्तुहरु प्रदर्शनका लागि राखिएका थिए ।

३ सय ६५ टोल विकास संस्थाका प्रतिनिधिलगायत, शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरु लगायत करिब ३ हजार जनाले मेला अवलोकन गरेका थिए । हेटौंडा उपमहानगरका उपमेयर राजेश बनियाँ, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायको रहेको थियो । जनगायक आशाकाजी श्रेष्ठलाई सर्जक सम्मानबाट नगद २५ हजार रुपैया“ राशिसहित सम्मान पत्रले सम्मानित गरिएको छ ।

Exit mobile version