हेटौंडाः हेटौंडा–११ स्थित शहीद स्मारकबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ५ बजेको समयमा शहीद स्मारकस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका ४ जनाको सुरक्षाजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो ।
प्रहरीले लागुऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुलसहित चितवन जिल्लाका ३ जना र एकजना मकवानपुरका पक्राउ परेका छन् । प्रहरीले लागुऔषधसहित चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० का २४ बर्षीय आशिष भुजेल, २० बर्षीय विवेक लामा र २३ बर्षीय सुदीप महर्जन र मकवानपुर जिल्लाको हेटौंडा–११ का २३ बर्षीय निशान वाईबा तामाङलाई पक्राउ गरेको छ । प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालय परिसरमा ल्याइसकेको छ ।
