हेटौंडाः मकवानपुरगढी गाउँपालिका–६, घोप्टेवेसीस्थित कालीदेवी आधारभूत विद्यालयले शैक्षिक सत्रको सुरुवातमै वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै छात्रवृत्ति वितरण गरेको छ । मंगलबार वडा अध्यक्ष कृष्णप्रसाद बजगाईको उपस्थितिमा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको हो ।
कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने छात्रा छात्रवृत्तिअन्तर्गत २१ जना छात्रालाई ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो । यस्तै नियमित विद्यालय आउने १८ जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । अभिभावकको उपस्थितिमा छात्रवृत्ति र पुरस्कार वितरण गरिएको हो । विद्यार्थीलाई प्रोत्साहित गर्न शैक्षिक सत्र सुरु भएलगत्तै छात्रवृत्ति र पुरस्कार वितरण गरिएको प्रधानाध्यापक देवकी तिमल्सिनाले बताउनुभएको छ ।
छात्रवृत्ति तथा पुरस्कार वितरणपछि वडा अध्यक्ष बजगाईले शैक्षिक सुधारमा अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुहुँदै अभिभावकले आफ्नो भूमिका बुझेर जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । विद्यालयमा अभिभावकको नियमित उपस्थिति र आफ्ना छोराछोरीको उचित स्याहारमा ध्यान दिन पनि वडा अध्यक्ष बजगाईले आग्रह गर्नुभएको छ । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक देवकी तिमल्सिनाले विद्यालयको शैक्षिक सुधारका लागि प्रदेश सरकारबाट विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमका लागि बजेट प्राप्त भएको र शैक्षिक सुधारका प्रयास भइरहेको जानकारी दिनुभयो । शैक्षिक सुधारकै लागि शिक्षकहरुलाई ५ दिने मण्टेश्वरी तालिम सञ्चालन गरिएको, बालविकास कक्षासहित अन्य कक्षाकोठाको रंगरोगन, चित्र तथा अक्षर, शब्द लेखनको कार्य गरिएको उहाँले बताउनुभयो । विद्यालय परिसरको केही भौतिक काम गर्न बाँकी रहेको उल्लेख गर्नुहुँदै विद्यालयको प्रभावक्षेत्रका सवै बालबालिका विद्यालयमै समेटिएकाले यो वर्ष विद्यालयले भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम नै गर्न नपरेको प्रधानाध्यापक तिमल्सिनाले दावी गर्नुभएको छ ।
विद्यार्थीलाई पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुलप्रसाद चौलागाईले विद्यालयको शैक्षिक सुधारकै लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन समितिले समुदायलाई सहभागी गराउने, शिक्षकलाई सहयोग गर्ने काममा सक्रिय रहने बताउनुभयो । शिक्षक अभिभावक संघकी अध्यक्ष सुन्तलीमाया दोङले अभिभावकको भूमिका बढाउन आवश्यक अग्रसरता लिने बताउनुभएको छ ।
