Home मुख्य समाचार प्रदेशका स्वयम्सेवकलाई अभिमुखीकरण

प्रदेशका स्वयम्सेवकलाई अभिमुखीकरण

अभिमुखीकरण पछि सामुहीक तस्विर खिचाउँदै ।

हेटौंडाः प्रदेश युवा स्वयम्सेवकअन्तर्गत् बागमती प्रदेशको स्वयम्सेवकमा छनौट भएकाहरुलाई अभिमुखीकरण दिइएको छ । मंगलबार बागमती प्रदेश युवा परिषद्ले हेटौंडामा प्रदेश स्वयम्सेवकमा छनौट भएका एक सय १९ जनालाई अभिमुखीकरण दिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्वयम्सेवकहरुबाट प्रदेशको सेवा प्रवाह तथा विकास निर्माणमा योगदान पुग्ने अपेक्षा आफूहरुले लिएको बताउनुभयो । उहाँले युवाहरु सामाजिक कार्यमा उत्साहित भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रदेश युवा परिषद्ले स्वयम्सेवकका लागि गत वर्षको फागुन ११ गते सूचना प्रकाशन गरी फागुन ३० गतेसम्म आवेदन दिन भनिएको थियो । आवेदन दिएकामध्येबाट एक सय १९ जनालाई अन्तर्वाताको प्राप्ताङ्क, शैक्षिक योग्यताको अङ्क र अनुभवको अङ्कको आधारमा छनौट गरिएको थियो । शिक्षातर्फ गणित र विज्ञान विषय, कृषि प्राविधिक, पशु प्राविधिक, अनमी र ल्याबका लागि आवेदन माग गरिएको थियो ।

स्वयम्सेवकहरुलाई आवश्यकताअनुसार जिल्लाहरुमा खटाइने जनाइएको छ । स्वयम्सेवकहरुले चालु आर्थिक वर्षको असार मसान्तसम्म काम गर्नेछन् । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे र सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीको आतिथ्य रहेको थियो ।

Exit mobile version