Home मुख्य समाचार क्युएए प्राप्तिको प्रक्रियामा हेटौंडा क्याम्पस

क्युएए प्राप्तिको प्रक्रियामा हेटौंडा क्याम्पस

हेटौंडाः विश्वविद्यालय अनुदान आयोगले हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको शैक्षिक गुणस्तर तथा प्रमाणीकरण (क्युएए) प्रक्रियाको अन्तिम चरणका कार्य गरिरहेको छ । क्याम्पसको संस्थागत, शैक्षिक, भौतिक विकाससँगै क्याम्पसको सामाजिक योगदानको पाटोमा पनि मूल्यांकन गरी क्याम्पसको सर्वपक्षीय सुधारका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने कार्य आयोगले गर्ने गर्दछ ।

शनिबार एक कार्यक्रमका बीच हेटौंडा क्याम्पसले आयोगका पदाधिकारीलाई क्याम्पसको नीति, शिक्षण सिकाई र मूल्यांकन, अनुसन्धान, परामर्श र विस्तार, पूर्वाधार र अतिरिक्त क्रियाकलापका लागि संरचना जस्ता विषयमा जानकारी गराएको छ । यस्तै विद्यार्थीका लागि समर्र्थन र मार्गदर्शन प्रदान, सुचना प्रणालीमा र सार्वजनिक सुचना प्रणालीमा विद्यार्थीलाई समावेश गराइएको हुनुपर्ने आयोगले उल्लेख गरेको छ ।

पूर्वपरीक्षण भ्रमण टोलीका संयोजक तथा प्रा.डा. सुनिति हाडा श्रेष्ठले र हेटौंडा क्याम्पस संचालक समितिका अध्यक्ष अनन्तराम पराजुलीबीच शैक्षिक गुणस्तर मान्यता प्राप्तिका लागि तोकिएका मापदण्डमा सम्झौता समेत भएको छ । वैशाख १९ गतेदेखि उक्त टोलीले क्याम्पस, विद्यार्थी, कर्मचारी, प्राध्यापक र अभिभावकबीच विविध विषयमा छलफल, अध्ययन र अनुसन्धान गरेको छ ।

क्याम्पसले पहिलाको तुलनामा केही मात्रामा सुधार गरेको प्रा.डा. श्रेष्ठको भनाइ छ । शैक्षिक गुणस्तर मान्यता प्राप्तिका लागि न्यूनतम मापदण्डहरु पूरा भएको हुनुपर्ने उहाँको भनाइ छ । तर अझै क्याम्पसले बीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्यामा न्यूनीकरण गर्न नसकेको र नियमित क्याम्पस आउने वातावरण निर्माण गर्न नसकेको अनुगमन टोलीको ठहर छ । सेमिनार, गोष्ठी, क्याम्पस बस, फर्निचरको मर्मत, विभागीय अध्ययन अनुसन्धानमा कम्प्युटर तथा कक्षाकोठाको अभाव, ई–लाइब्रेरीको व्यवस्था, छात्राबासको व्यवस्था नगरिएको श्रेष्ठले बताउनुभयो । स्थानीय तहको प्रचुर मात्रमा सहयोग रहेकाले कसरी अघि बढाउने भन्ने कुरामा क्याम्पसको ध्यानाकर्षण हुन जरुरी रहेको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार गत वर्षको तुलनामा पिउने पानीमा भने सुधार भएको छ ।

उक्त परीक्षण अन्तिम रहेकाले छिट्टै शैक्षिक गुणस्तर मान्यता प्राप्तिका लागि मापदण्ड पूरा गर्न प्रा.डा. श्रेष्ठले आग्रह गर्नुभयो । विज्ञ प्रा.डा. विनोद लुइँटेल, विज्ञ प्रा.डा. चिरञ्जीवी खनाल र विश्वविद्यालय अनुदान आयोगका सचिवालय सदस्य सन्विदा पाठकले पनि क्याम्पसले सुधार गर्नुपर्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

Exit mobile version