Home मुख्य समाचार मनहरीमा चोरको बिगबिगी

मनहरीमा चोरको बिगबिगी

हेटौंडाः पछिल्लो समय मकवानपुरको मनहरीमा चोरीको घटना वृद्धि भएको छ । केही समययता मनहरी–८ मा अवस्थित एक ग्यारेजमा चोरी भएको थियो । यस्तै, मनहरी–८ कै महेन्द्रकिरण माध्यमिक विद्यालयमा भएको चोरीको घटना सेलाउन नपाउँदै मनहरी–७, रमनटारमा रहेको रमनटार डिपाड बचत तथा ऋण सहकारीमा चोरी भएको छ ।

बैशाख १६ गते रातिको समयमा अज्ञात समूहले सहकारीको भवनको पूर्वपट्टि रहेको झ्यालको ग्रिलमा रहेको किला निकाली प्रवेश गरी सीसी क्यामेराको डीबीआर बक्स र सहकारीको काउण्टरबाट ६ हजार ८ सय ६५ रुपैयाँ चोरी गरी लगेको सहकारीका व्यवस्थापक बिरु नेगीले जानकारी दिनुभयो । संस्थामा चोरी भएको घटना बिहानपखमात्र थाहा पाएपछि इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराइएको थियो ।

सहकारीमा चोरी गर्ने चोरले अफिसभित्रको सबै दराज तोडफोड गरी पैसा खोजेकोजस्तो देखिएको नेगीको भनाई छ । सिंचाई समितिको सदस्यता शुल्कबापत उठाइएको रकम भने दराज फोरी खोजी गर्दा पनि चोरले भेट्टाउन नसकेको उहाँको भनाई छ ।

पछिल्लो समय मनहरीमा भएका चोरीको घटनामा सीसी क्यामेराबाट बचेर चोरी गरिएको बताइएको छ । चोरले सीसी क्यामेराको पहुँचबाट आफूलाई सुरक्षित राख्ने प्रयास गरेको पाइएको छ । चोरी गरिएको स्थानको राम्रो जानकारी भएका व्यक्तिहरु चोरीमा सामेल भएको घटनाक्रमले देखाएको छ । चोरी गर्ने व्यक्तिलाई कतैकतै सीसी क्यामेराले कैद गरिएको भए पनि पहिचान गर्न मुस्किल भएको बताइएको छ ।

Exit mobile version