Home Uncategorized उपाध्यक्ष कप भलिबलको उपाधि ५ नम्बर वडालाई

उपाध्यक्ष कप भलिबलको उपाधि ५ नम्बर वडालाई

विजेता टिम ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा आयोजना भएको पहिलो संस्करणको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि ५ नम्बर वडाले जितेको छ । सोमबार कैलाश–३, कालिकाटारमा भएको फाइनल खेलमा वडा नम्बर १० लाई ३–० को सोझो सेटले पराजित गर्दै ५ नम्बरले उपाधि जितेको कैलाश खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले जानकारी दिनुभयो ।

उपाधिसँगै ५ नम्बर वडाले ट्रफीसहित नगद ६० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको १० नम्बर वडाले ४० हजार रुपैयाँमा चित्त बुझाएको छ । सोमबार बिहान भएको सेमिफाइनल खेलमा ५ नम्बर वडाले १ नम्बर वडालाई ३–० को सोझो सेटले हराउँदै फाइनल प्रवेश गरेको थियो भने १० नम्बर वडाले ३ नम्बर वडालाई ३–१ सेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा १ नम्बर वडा तृतीय भएको छ । ३ नम्बर वडालाई सोझो सेटले पराजित गर्दै १ नम्बर वडा तृतीय भएको हो । तृतीय भएको १ नम्बरले २० हजार रुपैयाँ प्राप्त गरेको छ भने सान्त्वना ३ नम्बर वडाले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ५ नम्बरका धिरज लो घोषित भए । यस्तै, उत्कृष्ट स्पाइकर १ नम्बरका विकास मोक्तान, उत्कृष्ट डिफेन्स ५ नम्बरका विजय तितुङ, उदयमान खेलाडीहरुमा ९ नम्बरका धावा ब्लोन र १० नम्बर वडाका पासाङ सिंतान घोषित भए । ५ नम्बरका टुल्कु तितुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विधागत उत्कृष्ट सम्पूर्णलाई ट्रफी प्रदान गरिएको छ । लिगकम नकआउटका आधारमा शनिबारबाट सुरु भएको प्रतियोगितामा पालिकाका ६ नम्बर वडाबाहेक अन्य ९ वडाले सहभागिता जनाएको थियो ।

कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइबाको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, उपाध्यक्ष बालकुमार मल्ललगायत वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Exit mobile version