Home अन्तरवार्ता “जुनियरलाई मौका दिएकोले हामी कमजोर देखियौं”

“जुनियरलाई मौका दिएकोले हामी कमजोर देखियौं”

मकवानपुर जिल्ला क्रिकेट टिम क्याप्टेन समन सुनार

मकवानपुर जिल्लाको क्रिकेट टिमले चितवन जिल्लाको क्रिकेट टिमसँग हेटौंडाको हुप्रचौरमा तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेल खेल्यो । सोमबार, मंगलबार र बुधबार भएको तीन एकदिवसीय मैत्रीपूर्ण खेलमध्ये चितवनले पहिलो २ खेलमा जित दर्ता गरेपछि मकवानपुरले अन्तिम खेलमा सान्त्वना जीत दर्ता ग¥यो । मैत्रीपूर्ण खेलमा घरेलु मैदानमै २–१ ले पछि परेको मकवानपुरे टिमका कप्तान सुमन सुनारसँग समृद्ध समाज दैनिकका संवाददाता कमल बिकले गर्नुभएको कुराकानीः

चितवन जिल्लासँगको तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेल कस्तो रह्यो ?

सुनारः यो खेल खासगरी जुनियर खेलाडीका लागि मौका दिनका लागि गरिएको हो । सिनियर खेलाडीहरुलाई आराम गराएर जुनियर खेलाडीलाई मौका दिएको हो । जुनियर खेलाडीहरुले केही अनुभव पाएको महसुस भएको छ ।

यो श्रृंखला खेल्दै गर्दा मकवानपुरको टिमको सवल र कमजोर पक्षहरु केके पाउनुभयो ?

सुनारः चितवन टिमसँग हामी निरन्तर खेल्दै आएका छौँ । चितवन टिम हामीसँग खेल्न एकदम रुचाउँछ भने हामी पनि चितवनसँग खेल्न रुचाउछौँ । हामीबीच राम्रो मित्रता छ । खेलमा सवल र कमजोर सबैको पक्ष हुन्छ । कहिलेकाहीँ हाम्रो टिमले राम्रो खेल्छ भने कहिलेकाहीँ चितवनले राम्रो खेल्छ । जसले राम्रो खेल्छ उसले जित्ने हो । यो श्रृङ्खलाको कुरा गर्ने हो भने हामीले जुनियरहरुलाई मौका दिएको हुनाले खेलमा हामी कमजोर सावित भएको जस्तो लागेको छ ।

नयाँ खेलाडीहरु जिल्लाको टिममा रहेर खेल्ने कति छन् ? उनिहरुले कस्तो खेले ?

सुनारः अहिलेको श्रृङ्खलाको कुरा गर्ने हो भने हामीले ९ जना नयाँ खेलाडीलाई खेलाएका थियौँ । हामीले यस्तै खेलहरुमा मौका दिँदै गयौँ भने उनीहरुले पछिको खेलहरुमा राम्रो खेल्छन् जस्तो लाग्छ । उनीहरुसँग अनुभवको कमिले गर्दा सोचेजस्तो राम्रो खेल्न सकेनन् । जति खेल्यो चित्त बुझ्दो नै थियो ।

तपाईहरुको नियमित क्रिकेटको प्रशिक्षण कस्तो भइरहेकोे छ ?

सुनारः नियमित प्रशिक्षणको अवस्था अहिले नाजुक छ । किनभने हामीसँग अहिले टिम कोच र एकेडेमी केही पनि छैन । सिनियरहरुलाई जति जानेको छ त्यति नै जुनियरहरुलाई सिकाउँदै छन् ।

नयाँ पुस्ताका टिमका तपाईहरुले लागि के–के गर्दै हुनुहुन्छ ?

सुनारः नयाँ पुस्ताका लागि विभिन्न योजनाहरु बनाइरहेका छौँ । उनिहरुलाई कसरी क्रिकेटमा आकर्षित गर्न सकिन्छ भनी लागीपरेका छौँ । छिट्टै एकेडेमीको सुरुवात गर्ने तयारी पनि गर्दैछौँ ।

Exit mobile version