Home खेलकुद अल नेपाल नोभिस बक्सिङः आजको पहिलो १० खेल सम्पन्न

अल नेपाल नोभिस बक्सिङः आजको पहिलो १० खेल सम्पन्न

हेटौंडाः अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत आज बुधबार हुने ३४ खेल मध्ये दिनको २ः३० बजेसम्ममा १० खेल सम्पन्न भएको छ । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी खेलमा ५४ केजीदेखि ५७ केजीका खेलसम्मका खेलहरु सम्पन्न भएको हो ।

बुधबार दिउँसो १२ बजेदेखि सुरु प्रतियोगितामा ५४ केजी तौल समुहमा रुपन्देहीका अमृत ठाडाराईले अछामका नरसिंह बुढालाई नकआउट गरे । यस्तै सल्यानका शिशिर घर्ती मगरले थानकोटका संगम तामाङलाई, एक्स बक्सिङका महेन्द्र गुरुङले एबीसीका देवलाल खात्वेलाई, दाङका विवेक देवकोटाले आरडिएक्स बक्सिङका पासाङ तामाङलाई, भक्तपुरका विकल भउडियोले कास्कीका सरोज राना मगलाई, नक्सालका पुकार जोशीले कैलालीका सुनिल रानालाई, युथका सुशन बस्नेतले रेजका सम्मन जंग बस्नेतलाई र अल्फाका जीवन महराले रुकुमका महेश बुढा मगरलाई नकआउट गरे ।

यस्तै ५७ केजी तौल समुहतर्फ बाँकेका मोहम्मद फरद खानले कञ्चनपुरका जीवन चन्दलाई नक आउट गरे । चन्दले खेल्न नसक्ने भएपछि रेफ्रीले खान विजयी भएको हो । यस्तै डिजी बक्सिङका आयुश श्रेष्ठले एचटुओका सन्देश सुब्बालाई नकआउट गरे । प्रतियोगिता अन्तर्गत आज नै ६७ केजी तौल समुहसम्मका अन्य २४ खेलहरु जारी छ ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन मंगलबार २५ खेल भएको थियो । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समुहमा प्रतिस्पर्धा गरिरहेको हो । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत्र ४ गतेसम्म चल्नेछ ।

Exit mobile version