हेटौंडाः बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पत्रकारले धेरै जोखिमकाबीच काम गरिरहेको बताउँदै पत्रकारितालाई सम्मानित पेशाको रुपमा व्याख्या गर्नुभएको छ । बागमती प्रदेश सभा सचिवालयले शुक्रबार चितवनमा आयोजना गरेको सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा संसदीय रिपोर्टिङसम्बन्धी दुई दिने प्रशिक्षणको उद्घाटन गर्नुहुँदै उहाँले देशको समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सभामुख पाठकले राम्रा विषयहरुको उठान गर्न र नराम्रा विषयहरुमा सचेत गराउन आग्रह गर्नुभयो । यस्तै, प्रदेश सभाका उपसभामुख अप्सरा खत्री चापागाईले संसदीय पत्रकारिताले सरकार र जनता दुवैका लागि सहयोगी भूमिका खेल्ने बताउनुभयो । संसदमा हुने गतिविधिलाई जनताहरुलासम्म पु¥याउन संसदीय पत्रकारिताको महत्व भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्रकार र प्रदेशसभाबीच सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तत्पर रहेको बताउनुभयो । प्रदेशसभाको बैठक, समितिको बैठकलगायतमा पत्रकारको पहुँचबारे आफूहरु सचेत रहेको खड्काको भनाइ थियो । सही र छिटो सूचना सम्प्रेषण गर्ने बिधिबारे पनि पत्रकारहरूसँग छलफल गरिने उहाँले बताउनुभयो । प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षणमा संसद, संसदीय संवाददाता खोज तथा लेखनशैली, जनप्रतिनिधिसँग सम्बन्धको विषयमा पत्रकार हरिबहादुर थापाले सहजीकरण गर्नुभएको थियो । प्रदेशसभा र सूचना सम्बन्धी विषयमा मनोजकुमार गुप्ताले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणमा संसदीय पत्रकारितामा क्रियाशील मकवानपुर र चितवनका करिब ४० जना पत्रकारको सहभागिता रहेको थियो ।
