हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले वन र वन्यजन्तुको द्वन्द्व हटाउन वनजंगलसँग सम्बन्धित कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने बताउनु भएको छ । बिहीबार हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुर र डिभिजन वन कार्यलय मकवानपुरको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार जनाताको नजिक हुने भएकाले वनसँग सम्बन्धित कार्यक्रम स्थानीय तहले गर्नुपर्ने धारणा राख्नुभयो ।
स्थानीय सरकारले वनको योजना बनाएर जानुपर्ने बताउनुहुँदै प्रदेश सरकारसँग वनसम्बन्धी कुनै प्रकारको कार्ययोजना नहुने बरु संघीय सरकारको हातमा हुने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । मकवानपुरमा हालै हात्तीको आक्रमणको घटना वनजंगलको संरक्षण नगर्नाले भएकाले वनको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जंगलबाट वन्यजन्तु गाउँमा प्रवेश गर्ने स्थानमा वाल लगाउने, तारबार लगाउने जस्ता कार्य गर्नुपर्ने मुख्यमन्त्री जमकट्टेलको भनाइ थियो ।
कार्यक्रमालाई सम्बोधन गर्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले डँढेलो मानिसले व्यक्तिगत स्वार्थका लागि लगाउने भएकाले यसो नगर्न समेत आग्रह गर्नुभयो । मानिस वनको संरक्षणका लागि लाग्नुपर्ने बताउनुयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले वन्यजन्तुको आक्रमणबाट मकवानपुरमा भएका घटनाको जानकारी गराउनुहुँदै वन कार्यालयहरुले अग्रिम सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो । वनबाट कुनै जनावर गाउँमा प्रवेश गर्यो भने पहिले नै सचेत गराउन वन कार्यालय र वनसँग सरोकार राख्ने निकाय सक्षम हुनुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले मानव–वन्यजन्तुको द्वन्द्व र वन डँढेलो न्यूनीकरणको उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । वन्यजन्तुको आक्रमणबाट भएका घटनामा पीडित पक्षलाई राहत प्रदान गरे तापनि मानिसको जिवन अमुल्य भएकोले मानव आफै पनि सजग रहनु पर्ने उहाँको भनाइ रहेको छ ।
