हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयको प्रधानाध्यापकमा सरोज फयाल र सहायक प्रधानाध्यापकमा देवी लुइँटेल नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको स्वीकृतिपछि प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको जिम्मेवारी शुक्रबारदेखि फयाल र लुइँटेललाई प्रदान गरिएको छ । यसअघि प्रधानाध्यापकमा कमल सापकोटा, सहायक प्रधानाध्यापकमा राज्यलक्ष्मी श्रेष्ठले जिम्मेवारी सम्हाल्नु भएको थियो ।
१५ वर्षदेखि राहत अनुदानतर्फ निमावि दरबन्दीमा कार्यरत फयालका अनुसार विद्यालयको सुधारका लागि अभिभावक र समुदायको चासो बढाउनुपर्ने आवश्यकता छ । समुदायको बीच भागमा रहेको ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा निमावि तहका ३ जना शिक्षक राहत अनुदान कोटाका हुनुहुन्छ भने प्रावि तहमा ४ जना स्थायी दरबन्दीका शिक्षक छन् । यस्तै प्रारम्भिक बालविकास कक्षाका २ जना र कार्यालय सहयोगी एकजना कार्यरत छन् ।
जनजाति समुदायको बाहुल्य रहेको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक फयालले अभिभावकको चेतना अभिवृद्धि गरी विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्ने प्रयास गरिने बताउनुहुन्छ । अभिभावकको चासो बढाउन घरदैलो गर्नुका साथै अभिभावकसँग विद्यालयले नियमित अन्तरक्रिया गर्ने योजना पनि प्रधानाध्यापक फयालको छ । भौतिक संरचना पर्याप्त रहेको विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीसँग पनि हातेमालो गर्ने प्रधानाध्यापक फयालले बताउनुभएको छ ।
