Home कला रौतहटमा शिव–सावित्री स्मृति सम्मान, रचना वाचन तथा कविता प्रतियोगिता

रौतहटमा शिव–सावित्री स्मृति सम्मान, रचना वाचन तथा कविता प्रतियोगिता

हेटौंडाः रौतहट जिल्लाको जनज्योति माध्यमिक विद्यालयको सभाकक्षमा शिव–सावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीको संयुक्त आयोजनामा शनिबार स्रष्टा सम्मान, रचना वाचन तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा बारा, महोत्तरी तथा मकवानपुरका बुढ्यौली साहित्य समाजका कार्यसमितिका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा वीरगन्जमा रही नेपाली तथा भोजपुरी भाषा एवम् साहित्यमा निरन्तर साधनारत डा. विश्वम्भर शर्मालाई सम्मान गरिएको थियो । शर्मालाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित स्रष्टाहरूमध्ये साहित्यिक पत्रकार संघ मधेस प्रदेश संयोजक सञ्जय साह मित्र, प्रगतिशील लेखक संघका राष्ट्रिय पार्षद् प्रेम घिमिरे, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा तथा साहित्यिक साँस्कृतिक प्रतिष्ठान बर्दिबासका अध्यक्ष रामचन्द्र पौडेलले कविता वाचन गर्नुभएको थियो ।

यसैगरी साहित्यकार राजेश्वरी काफ्ले, अम्बिका कार्की, इसहाक हुसेन, नानीराम दहाल, राजकुमार लामिछाने, देवराज खरेल, नारद काफ्ले, सुमित्रा आचार्य, घनश्याम पन्त, सञ्जय सुदामा, कुमार दहाल कुसुम, लक्ष्मी श्रेष्ठ, गोविन्दप्रसाद काफ्ले, नित्यानन्द शर्मा कँडेल, राधा घिमिरे, पूण्यप्रसाद घिमिरे, रामनारायण चौधरी, श्याम थापा, भवानी घिमिरे, सङ्गीता सहनी, भवानी घिमिरे, पुष्पराज रोइला, हरि शर्मा, प्रकृति सेन्चुरी, पूजा तिम्सिना, दीक्षा तिवारीले कविता, गजल, मुक्तक तथा पञ्चाङ्ग वाचन गर्नुभएको थियो ।

कक्षा ६-१२ का विद्यार्थीहरूका बीच ‘हजुरआमा’ शीर्षकमा गराइएको कविता प्रतियोगितामा विभिन्न विद्यालयका २१ जना विद्यार्थी सहभागी थिए भने जनप्रिय मावि हरिनगर मैढा, गुजराकी मीना रसाइली प्रथम, सोही विद्यालयकी आकृति चौधरी द्वितीय र चन्द्रज्योति अंग्रेजी आवासीय मावि चन्द्रपुरकी तेजस्वी गजमेर तृतीय भएकी थिइन् भने तथा नमुना अंग्रेजी आवासीय माविका उत्सव थापाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष रमेशमोहन अधिकारीले सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो भने महासचिव चन्द्रमोहन अधिकारीले शिव–सावित्री प्रतिष्ठानका गतिविधि तथा योजनाका बारेमा बोल्नुभएको थियो । प्रतियोगी कविताको निर्णय भने छन्दकवि लालबाबु शर्माले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख आतिथि नेपाली हास्यव्यंग्य साहित्यका सशक्त हस्ताक्षर नरनाथ लुइँटेल रहनुभएको थियो भने सभाध्यक्षता शिव–सावित्री प्रतिष्ठान नेपालका अध्यक्ष उत्तममोहन अधिकारीले गर्नुभएको थियो ।

Exit mobile version