Home मुख्य समाचार चण्डिका माविको वार्षिकोत्सवमा विद्यार्थीको साँस्कृतिक कार्यक्रम

चण्डिका माविको वार्षिकोत्सवमा विद्यार्थीको साँस्कृतिक कार्यक्रम

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविले आज बिहिबार ४४ औं वार्षिकोत्सव अवसरका विशेष कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोलेको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा विद्यालयको वार्षिकोत्सव समारोह भएको हो । वार्षिकोत्सव समारोहमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली, वडा अध्यक्ष बखान सिंह पाख्रिन, गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामबहादुर घलान लगायतको आतिथ्य रहेको थियो ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले वार्षिक योजना प्रस्तुत गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गरिएको प्रयासहरुको जानकारी गराउनुहुँदै प्रधानाध्यापक फुयाँलले विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीहरु ऋतिक थिङ र प्रजिता बिकलाई आमन्त्रित सदस्यको रुपमा समावेश गरिएको जानकारी दिनुभयो । विद्यालयलाई पूर्णतः निशूल्क गराउने प्रयास भइरहेको र अंग्रेजी माध्यमको नाममा अभिभावकसँग शूल्क नलिने योजनासहित तयारी भइरहेको पनि प्रधानाध्यापक फुयाँलले जानकारी गराउनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने चण्डिका माविमा २ सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version