Home खेलकुद शहीद स्मृति मकवानपुर गोल्डकपः घरेलु टोली मकवानपुर–११ को विजयी सुरुवात

शहीद स्मृति मकवानपुर गोल्डकपः घरेलु टोली मकवानपुर–११ को विजयी सुरुवात

बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गर्नुहुँदै नगर प्रमुख लामा ।

हेटौंडाः पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । सिमराको नवजागृति युवा क्लबलाई २–० गोलले हराउँदै मकवानपुरले विजयी सुरुवात गरेको हो । मकवानपुरका लागि प्रितम स्याङ्बो र फागुराम चौधरीले १–१ गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । मकवानपुरले अब क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आज आइतबार ए डिभिजन क्लब सातदोबाटो क्लब र मनाङमस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । समूह ए मा नेपाल एपीएफ, हिमालयन शेर्पा क्लब, बीरगन्ज युनाइटेड, एनआरटी फुटबल क्लब, बागमती युवा क्लब र एभिनियर एफसी रहेको छ भने समूह बी मा फ्रेण्ड्स क्लब, नवजागृति युवा क्लब, रिगल रिसोर्ट हेटौंडा मकवानपुर–११, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्षमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, निवर्तमान नगर प्रमुख हरि बहादुर महत लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version