Home अन्तरवार्ता पूर्वाधारको काममा प्रत्यक्ष सहभागी हुन्छु

पूर्वाधारको काममा प्रत्यक्ष सहभागी हुन्छु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल

विकास निर्माण, सामाजिक क्षेत्र तथा वडा तहमा हुने स–साना उपलब्धीहरुमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहमा नयाँ सरकार निर्वाचित भएको ६ महिना पूरा भएको छ । ६ महिनाको अवधिमा भएका उपलब्धी, अनुभव, अवसर र आगामी दिनको योजनाहरुको विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः वडा अध्यक्षको रुपमा तपाईंको दैनिकी कस्तो भइरहेको छ ?

दाहालः ब्यस्तताभन्दा पनि वडाबाट दैनिक दिने सेवाहरुमा अलि बढि ब्यस्त हुन्छु । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडामै ब्यस्त हुन्छु । त्यसपछिको समयमा वडामा टोल विकासहरुको भेला, वडामा हुने विभिन्न खाले कार्यक्रम वा भेलाहरुमा एउटा जनप्रतिनिधि उपस्थिति हुनुपर्ने हुँदा सकेसम्म समयानुकूल रहेसम्म वडाका जनतालाई दिनुपर्ने सेवामा अबरोध नपुग्ने गरी म सबै कार्यक्रममा पुग्न खोज्छु । त्यो समयको ब्यवस्थापन गरिरहेको हुन्छु । मैले नभ्याउदा ४ जना वडा सदस्य हुनुहुन्छ । उहाँहरुलाई पनि कार्यक्रममा सहभागी हुन सहकार्य गर्छु ।

समाजः म महिला वडा अध्यक्ष हुँ भन्ने हिसाबले तपाईंले कस्तो महसुस गरिरहनु भएको छ ?

दाहालः बिगतमा पनि म जनप्रतिनिधि भएको र निरन्तर काम गरिरहेको हुँदा मेरो अनुभव साथै जनताले मेरो कामको मूल्यांकन पनि गरेर ११ नम्बर वडाबासीले निर्वाचित गर्नुभएको छ । धेरै चुनौती हुँदाहुँदै पनि वडा अध्यक्षको रुपमा मलाई एउटा काम गर्ने अबसर प्रदान गर्नुभएको छ । म अत्यन्तै खुशी छु । वडा अध्यक्ष भएर काम गरेर जनताका लागि केहि न केहि काम गर्ने र उहाँहरुको हरेक समस्यामा पुग्नसक्ने, गर्नसक्ने सेवाहरु दिन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

समाजः तपाईं एक कार्यकाल वडा सदस्य हुनुभयो । वडा सदस्य हुँदा र अहिले वडा अध्यक्ष हुँदा के कुरा फरक पाउनुभयो ?

दाहालः वडा सदस्य हुँदा वडा अध्यक्ष पनि हुनुहुन्थ्यो । अध्यक्षले नभ्याएका ठाउँहरुमा जाने, हरेक विकास निर्माणका काममा सहभागी हुने अवसर थियो । कोरोना माहामारीको रुपमा फैलिएपछि त्यो समयमा वडाबासीको घरघरमा गएर आफूले सकेको सहयोग गरियो । औषधिसहित आवश्यक सहयोग लिएर स्वास्थ्यकर्मीसहित वडाबासीको घरमा जान्थ्यौं । हरेक विकास निर्माणको काममा पनि म आफैंले अनुभूति गरेअनुसार हरेक ठाउँमा पुगिरहन्थेँ । अहिले वडा अध्यक्ष भइरहँदा सुरुका केही दिन वडा कार्यालय जाँदा मलाई अप्ठेरो भएको महसुस भयो । किनभने पहिले अध्यक्ष हुनुहुन्थ्यो । काम त गरिन्थ्यो, आफ्नै हिसाबले प्रमुख जिम्मेवारी उहाँकै हुन्थ्यो । अध्यक्ष भएर आफैं जिम्मेवार भएर आउँदाचाहिँ न मैले केही गल्ती गर्छु कि भन्ने लाग्नेरहेछ । एउटा सदस्य हुँदा र अध्यक्ष हुँदा धेरै फरक हुन्छ, कामको हिसाबले ।

समाजः २०७४ सालमा वडा सदस्य हुनुहुन्थ्यो । त्यतिबेला वडा सदस्य नै हुन्छु भन्ने थियो कि पाएको भए म वडा अध्यक्ष हुन्छु भन्ने पनि थियो ?

दाहालः पार्टीले अवसर दिएको भए र जनताले साथ दिएको भए अध्यक्ष हुन्छु भन्ने त थियो । जनताले मलाई कति बुझेका थिए, भुगोलले मलाई कति चिनेको थियो त्यो आफ्नै ठाउँमा रह्यो । म स्कूलदेखि नै अनेरास्ववियुमा लागेर केन्द्रीय सदस्यसमेत भएँ । यो बीचमा विवाह भयो । विवाहपछि पनि ट्रेड युनियनमा महिलाको प्रमुख र अञ्चल कमिटी सदस्य भएर काम गरेँ । म राजनीतिसँग जोडिएको थिएँ । त्यतिबेला म वडा सदस्य हुँदा पनि पाँच जनामध्ये सबैभन्दा बढि मत पाएको थिएँ । त्यतिबेला पनि कार्यपालिकाको सदस्य भएर काम गर्ने जिम्मेवारी पाउँछु कि भन्ने लागेको थियो । मैले जिम्मेवारी पाएको भए बहन गर्थें । अब मलाई के लाग्छ भने अब म जहाँ छु, म त्यहीँ नै भिज्छु र काम गर्छु । अब मैले असन्तुष्टि गर्नेभन्दा पनि मैले जहाँ सेवा गर्ने अबसर पाउँछु, म त्यही काम गर्छु भनेर वडा सदस्यको रुपमा जिम्मेवारी सम्हालेको थिएँ । वडा सदस्यको रुपमा विभिन्न शिक्षा समिति, लेखा समितिलगायतका समितिहरुमा रहेर काम गर्ने अवसर पाएँ ।

समाजः २०७९ को चुनावको मिति घोषणा भइसकेपछि तपाईंले कस्तो–कस्तो सन्दर्भमा अध्यक्ष लड्छु भनेर अठोट गर्नुभयो ?

दाहालः पूर्वअध्यक्ष गोकर्ण पराजुलीले अब ४ जना सदस्यहरु मध्येबाट हुनुपर्छ भन्नुभएको थियो । मैले अलिकति माइन्ड मेकअपचाहिँ गरेको थिएँ । मैले अध्यक्षको उम्मेदवारीको टिकट पाएँ भने जित्ने गरी मैले काम पनि गर्नुपर्छ भन्ने थियो । म आफू अध्यक्षको लागि तयार हुनुपर्छ भनेर तयारी गरेँ । अरु पनि तयार हुनुहुन्थ्यो, आफ्नो ठाउँमा रह्यो । तर म पनि अलि अपडेट भएर जानुपर्छ । चुनावको समयमा जस्तोसुकै समस्या, चुनौती आएपनि सामना गर्न सक्छु भन्ने थियो । त्यसमा सबै पार्टी संगठन, ११ नम्बर वडाबासीले माया गर्नुहुन्छ र मलाई त्यो अबसर प्रदान गर्नुहुन्छ भन्नेमा म बिश्वस्त थिएँ ।

समाजः अध्यक्षको उम्मेदवार भइरहँदा तपाईंका के कस्ता कामले मतदातालाई तपाईंप्रति आकर्षित गर्यो ?

दाहालः मूल्यांकनको कुरा गर्दा कामको आधारमा नै हुने हो । मैले राजनीति गरेको पृष्ठभूमि देखिएको छैन । राजनीतिक देनहरु आफ्ना ठाउँमा छन् । तर, जनताको सानो ठूलो काममा, दुःखमा सम्झेर जान्थेँ । स्थानीयको दुःख सुखमा घुलमिल भएको थिएँ । यसले पनि स्थानीयको मत तान्न सहयोग गरेको थियो । वडा अध्यक्ष भएपछि भने सबै ठाउँमा पुग्न भ्याइँदैन कि भन्ने छ । तर, पनि मैले सबैलाई मिलाएर अगाडि बढिरहेको छु । स्थानीयसँग भेटेर उनीहरुको समस्याहरु बुझ्दै आएको छु ।

समाजः वडा अध्यक्ष भइरहँदा ६ महिनाको अवधिमा मुख्य उपलब्धीहरु के–के भएका छन् ?

दाहालः सडक निर्माणको आधा जति काम सकिएको छ । दोस्रो सभाबाट थपिएका कामहरु गर्न बाँकी छन् । सबैभन्दा कम आय भएको पशुपालन गरिरहनुभएका किसानहरुलाई वडाले बिमा गरिदिएको छ । त्यो महत्वपूर्ण कामजस्तो लाग्छ । वडास्तरीय फुटबल, भलिवल आयोजना गरेका थियौं । भौतिक निर्माणसँगै शैक्षिक सामाग्री वितरण गर्ने काम गरिरहेका छौं । ११ नम्बर वडाका सबै बालबालिका विद्यालय जाने वातावरण तयार गर्न प्रमुख प्राथमिकता दिएकी छु । महिलाहरुको आवश्यकता, रोजगारी र आयआर्जनको विषयलाई जोड्ने योजना बनाइरहेका छौं । तालिमहरु सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छौं । महिलाहरुलाई आयआर्जन गर्न आवश्यकताअनुसार समूहहरुमा लगानी गर्ने भनेर बजेट छुट्याएका छौं ।

समाजः वडा तहमा कार्य विभाजन कसरी गरिरहनु भएको छ ?

दाहालः शिक्षा, सहकारीमा सदस्यहरुलाई नै जिम्मेवारी दिएका छौं । बैठकले गरेका निर्णयहरुमा पनि सदस्यहरुलाई कार्यकारीरुपमा जिम्मेवारी दिएका छौं । सबैजना सक्रिय भएर काम गरिरहेका छौं । बैठकमा पनि सदस्यहरुको सक्रिय सहभागिता रहेको छ । हाम्रो समूहमा केही फरकरुपमा काम गर्ने, केही नयाँ काम गर्ने भन्ने सबैको भावना रहेको छ ।

समाजः नगरभित्रका वडाहरुमध्ये हेटौंडा वडा नम्बर ११ मा सबल पक्ष के–के देख्नु भएको छ ?

दाहालः विकासको हिसाबले सडक व्यवस्थित छ । थानाभर्याङ २ हजार एक सय घरधुरी भएको एउटै टोल छ । यो अरु वडाभन्दा फरक छ । ११ नम्बर वडाको आधा घरधुरीलाई खानेपानीको व्यवस्था छैन । अव्यवस्थित बस्ती छ । उनीहरुलाई खानेपानीको व्यवस्था गर्न सकिएको छैन । लालपूर्जा दिन सकिएको छैन । भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिने महत्वपूर्ण काम छ । ५ वटा टोल विकास संस्थामा खानेपानीको अत्यन्त आवश्यक छ । यो वर्ष नै टेण्डर गरेर काम गर्ने योजनामा छौं । बजेटको माग पनि गरेका छौं । सबैभन्दा पहिले लालपूर्जा र त्यसपछि खानेपानी हाम्रो दोस्रो प्राथमिकतामा रहेको छ ।

Exit mobile version