Home कला आँचलद्वारा साहित्य, सामाजिक सेवा र सञ्चार क्षेत्रका १० जना सम्मानित

आँचलद्वारा साहित्य, सामाजिक सेवा र सञ्चार क्षेत्रका १० जना सम्मानित

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत साहित्य, सामाजिक सेवा र सञ्चार क्षेत्रका १० जना व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

आँचल सम्मान–२०७९ बाट साहित्यसेवी मुक्तिगोविन्द वैद्य सम्मानित हुनुभएको छ । वैद्य मकवानपुरमा साहित्यिक गतिविधिमा आर्थिक सहयोग गर्ने व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले मकवानपुरमा रहेका विभिन्न साहित्यिक संस्थाहरुलाई सहयोग गर्दै आउनुभएको छ । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान–२०७९ बाट जीएस निकेतन विद्यालयमा कक्षा–९ मा अध्ययनरत समर्पण न्यौपानेलाई नगद ३ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ । सो पुरस्कार शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको हो ।

मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७९ हेटौंडाकै कृतिका लौंडारीलाई नगद ५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । उक्त पुरस्कार साहित्यसेवी मुक्तिगोविन्द वैद्य र उहाँकी धर्मपत्नी तारा वैद्यले स्थापना गर्नुभएको थियो । वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान–२०७९ बाट मकवानपुरे अग्रज साहित्यकार ओमभक्त भण्डारीलाई नगद ५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । पुरस्कार साहित्यकार स्वर्गीय गणेशकुमार पौडेलले स्थापना गर्नुभएको थियो ।

ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७९ बाट पत्रकार राममणि दाहाललाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ । सो पुरस्कार स्वर्गीय अप्सरा तिमल्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबुवाको नाममा स्थापना गर्नुुभएको हो । त्यस्तै, बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७९ बाट हेटौंडाकी गजलकार बबी थापालाई नगद १० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । सो पुरस्कार समाजसेवी हरिवंश भेटवालले स्थापना गर्नुभएको थियो ।

सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०७९ बाट बाँसुरीवादनमा क्रियाशील मकवानपुरको बकैया–५ का विष्णुबहादुर विश्वकर्मालाई नगद १० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । उक्त पुरस्कार समाजसेवी चन्द्रकिरण श्रेष्ठ र उहाँकी धर्मपत्नी मेनुका शर्माले स्थापना गर्नुभएको हो । प्रतिभा धिताल छन्द पुरस्कार–२०७९ इटहरीकी कवि टीका आत्रेयलाई १० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । सो पुरस्कार आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले स्थापना गर्नुभएको थियो । त्यस्तै टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७९ बाट हेटौंडाकै साहित्यकार माधव पोखरेललाई नगद ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । उक्त पुरस्कार साहित्यकार रुकु कार्कीले स्थापना गर्नुभएको थियो ।

अप्सरा तिम्सिना स्मृति साहित्य सम्मान–२०७९ बाट काठमाडौंकी आख्यानकार माया ठकुरीलाई १५ हजार १ रुपैयाँसहित सम्मान गरिएको हो । उक्त पुरस्कार स्वर्गीय अप्सरा तिमल्सिनाको नाममा उहाँका मातापिता गजाधर तिमल्सिना तथा यशोधरा तिमल्सिनाले स्थापना गर्नुभएको हो । वार्षिकोत्सव कार्यक्रम आँचल साहित्य कला पुञ्ज मकवानपुरका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्वागत मन्तव्य आँचल साहित्य कला पुञ्ज मकवानपुरका उपाध्यक्ष निरा शर्माले राख्नुभएको थियो भने पुरस्कृत श्रष्टाको परिचय आँचल साहित्य कला पुञ्ज मकवानपुरका सदस्य रजनी पौडेलले राख्नुभएको थियो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार मुना अर्याल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, गजल मञ्च मकवानपुरका पूूर्वअध्यक्ष देवराज तिवारी, नवसर्जक साहित्यिक चौतारी नेपालका संरक्षक दीपक गौतम, साहित्यकारहरु पुरुषोत्तम आचार्य, शान्ति प्रियबन्दना, देवराज खरेल, सानु खनाल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version