हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरका मेयर मिना लामाको प्रमुख आतिथ्यमा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सुरु भएको हो ।

प्रदर्शनीमा राखिएको गणित सामग्री अवलोकन गर्दै विद्यार्थीहरु ।
मेयर लामाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदर्शनीबाट विद्यालय, अभिभावक र विद्यार्थीबीचको सिकाईमा सहयोग हुने बताउनुभयो । शिक्षाको हवमा हेटौंडा सकारात्मक रहेकाले गुणस्तरीय शिक्षा बनाउनुपर्ने उहाँको भनाई छ । कानुन संकाय, कृषिदेखि आविष्कार केन्द्र स्थापना गर्न उपमहानगर तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । प्रविधिको युगलाई आत्मसाथ गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै, अध्यक्ष सिग्देलले शिक्षालाई रोजगार, आयआर्जन र प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । सोही बमोजिम वडाले प्रतिष्पर्धीद्वारा शिक्षामा सुधार गर्न शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको उहाँको भनाई छ । वडा नम्बर-४ मा रहेको हेटौंडा क्याम्पसदेखि सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक प्रदर्शनी कार्यक्रममा सहभागी भएका छन् । जसमा गणित, विज्ञान र सामाजिक अध्ययन विषयका सामग्रीहरु प्रदर्शनीका लागि राखिएको छ । हेटौंडा-४ मा रहेको श्रमिक माध्यमिक विद्यालयका विद्यार्थी लक्ष्मी खड्काले कार्यक्रमले सजिलैसँग पाठ्यक्रमका विषयवस्तु बुझ्न सहयोग पुग्ने बताउनुभयो ।