हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ लामीटारमा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान साढे १० बजेको समयमा धरान–चतरा सडक खण्डमा हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र.२–०३–००१ ख. ६४३१ नम्बरको सिमेन्ट लोड गरेको बाह्र चक्के ट्रकले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा झुरझुरे तर्फबाट फापरबारीतर्फ आउँदै गरेको ना.४१ प.८५३२ नम्बरको पल्सर मोटरसाइकल र सोही दिशातर्फबाट आउँदै गरेको ना.११ प.१११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५ जना घाईते भएका हुन् । दुर्घटनामा ना. ४१ प.८५३२ नम्बरको मोटरसाइकल चालक मकवानपुरको बागमती गाउँपालिका ५ बस्ने २९ वर्षीय आईते थिङ घिसिङ घाइते भएका छन् । उनको दाहिने हातखुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, सोही मोटरसाइकलको पछाडी सवार ४० वर्षीय श्रीकृष्ण बिक र २२ वर्षीय देवान थिङको टाउको र हात खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।
यस्तै, ट्रकको ठक्करबाट ना.११ प. १११४ नम्बरको मोटरसाइकल चालक बागमती गाउँपालिका–६ रातोमाटे बस्ने ४० वर्षीय राज कुमार सुयाल र मोटरसाइकलको पछाडी सवार ३० वर्षीय रुपक परियारको खुट्टामा र हातमा चोट लागेको प्रहरीले जनाएको छ । रुपक परियारलाई सामान्य उपचार पश्चात् घर पठाईएको छ । घाईतेहरुको स्थानिय क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ४ जनालाई हेटौंडा अस्पताल ल्याईएको छ । सवारी दुर्घटना भएका दुबै मोटरसाइकल, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक बिदुर चन्द्र अधिकारीको कमाण्डमा टोली खटिएको थियो ।
