Home अन्तरवार्ता “जसले संरक्षण गरेको हो, अधिकार पनि उसैले पाउनुपर्छ भन्ने चाहन्छौं”

“जसले संरक्षण गरेको हो, अधिकार पनि उसैले पाउनुपर्छ भन्ने चाहन्छौं”

साधुराम चौलागाई, अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर

“हरियो वन नेपालको धन” भन्ने उक्ति आजभोलि त्यत्ति सुनिन्न । वन क्षेत्रको उचित व्यवस्थापन र लाभको सदुपयोग गर्न नसक्दा ठूलो परिमाणमा विदेशी काठ खरिद गर्नुपर्ने अवस्था छ । सार्वजनिक वनको संरक्षण र लाभ हासिलका लागि सार्वजनिक वनलाई समुदायमा हस्तान्तरण गरिँदै आएको छ । वनको स्वामित्व उपभोक्ता समूहलाई दिएसँगै अधिकांश क्षेत्रमा सदुपयोग भएको छ भने कतिपय अवस्थामा दुरुपयोग पनि भउका छन् । यद्यपि वन क्षेत्रमा स्पष्ट नीति स्थापित नहुनु, सरकारको नेतृत्वले यसतर्फ ध्यान दिन सकेको छैन । यसैसन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः हाल मकवानपुर जिल्लामा सामुदायिक वन अभियान कसरी चलिरहेको छ ?

चौलागाईंः मकवानपुर जिल्लामा सामुदायिक वनको अवस्था हेर्ने हो भने जताततै हराभरा भएको छ । लगभग नब्बे प्रतिशत हामीले यो सामुदायिक वन अभियानलाई सफल पार्न सकिरहेका छौं भने बाँकी १० प्रतिशतमात्र चुनौतीको रुपमा रहेको छ । यस्ता चुनौतीहरुलाई सामना गर्नका लागि हामी अगाडि बढ्दै पनि छौं । मकवानपुरमा हाल ४२४ वटा सामुदायिक वन रहेका छन् भने हामीसँग ३२४ वटा सामुदायिक वन आबद्ध रहेका छन् । बाँकी सामुदायिक वनहरुलाई पनि यो अभियानमा आबद्ध गराउन हामी लागिपरेका छौं । नचाहँदा नचाहँदै पनि राज्यले हाम्रो वन क्षेत्रको अधिकार खोसिरहेको छ । तर हामीले संरक्षण र उत्पादन गरेको चीज हामीले नै उपभोग गर्न पाउनुपर्छ भन्ने माग गर्दै आएका छौं ।

समाजः वन संरक्षण गरेबापत् उपभोक्ताले लाभ लिनका लागि वा उपभोक्ता मारमा नपर्नका लागि राज्यमा कस्तो नीतिको आवश्यक छ ?

चौलागाईंः अहिले सामुदायिक वन प्रदेश नीतिको आधारमा चल्नुपरेको छ । हामी राज्यको यो नीतिलाई परिवर्तन गरी स्थानीय निकायअन्तर्गत् चल्न चाहन्छौं । स्थानीय निकायका प्रतिनिधिहरुलाई हामीले नै चुनावमा मत दिई जिताएर पठाएका हुन्छौं । स्थानीय निकायमा कतिपय प्रतिनिधिहरु सामुदायिक वनसम्बन्धी ज्ञान भएका अर्थात् सामुदायिक वन अभियानमा संलग्न व्यक्तिहरु नै हुने भएकाले हामी स्थानीय नीतिअन्तर्गत् चल्न चाहन्छौं ।

समाजः प्रदेश सरकारले बुझ्न नसकेका विषयलाई बुझाएर प्रदेश मातहतमै चलाउँदा अझै सहज हुन्थ्यो कि ?

चौलागाईंः हामी जसले संरक्षण गरेको हो, अधिकार पनि उसैले पाउनुपर्छ भन्ने चाहन्छौं । हामी उपभोक्ताको अधिकारमा कटौती नगरोस् भन्ने चाहन्छौं । त्यसका लागि राज्यले उपभोक्तालाई वनसँग सम्बन्धित विभिन्न तालिम, गोष्ठी तथा सेमिनार गरिदिनुपथ्र्याे तर त्यस्तो केही भएन । त्यसकारण हाम्रो यो अभियानले नै केही समयपछि लेखासम्बन्धी तालिम सञ्चालन गर्दैछौं । त्यसका लागि हामीले नगरपालिकाबाट बजेट पनि माग गरिसकेका छौं । यो तालिममा हामीले वन किनेको बेलादेखि पछिसम्म रेकर्ड राख्ने तरिका, आयव्ययको हिसाब राख्ने तरिकाहरु सिकाउनेछौं ।

समाजः सामुुुदायिक वन उपभोक्ताको प्रारम्भिक समूहले वन संरक्षणका लागि के कस्ता क्रियाकलापहरु गर्न सकिन्छ ?

चौलागाईंः सामुदायिक वन उपभोक्ता समूहको प्रमुख कार्य भनेको वनको संरक्षण गर्नु हो । त्यसका लागि खाली जग्गामा वृक्षरोपण गर्ने, चोरीचाकडीको नियन्त्रण गर्ने, बाटो छेउछाउको खाली भागमा रुख विरुवा लगाउने र खाली जग्गामा माटो सुहाउँदो फलफूल खेती गर्न प्रेरित गर्नेजस्ता कार्य गर्न सकिन्छ ।

समाजः पहिलो कार्यकालको प्रदेश सरकारले वन क्षेत्रको विकास गर्ने उद्देश्यले फलफूलको विरुवा बाँडेका पनि थिए, त्यसको नतिजा कस्तो पाउनुभयो ?

चौलागाईंः पहिलो कार्यकालको प्रदेश सरकारले ल्याएको उक्त योजनाले प्रभावकारी नतिजा निकाल्न सकेन । त्यतिबेला प्रदेश सरकारले माटो जाँच नगरी फलफूलको विरुवा बाँडेका थियो ।

समाजः काठजन्य वस्तुको उत्पादन, वितरण र मूल्यसम्बन्धी समस्यालाई समाधान गर्न के गर्न सकिन्छ ?

चौलागाईंः काठजन्य वस्तुको मूल्य निर्धारण न्यायाधीशहरुको भेलाले गर्ने गर्दछ । उक्त भेलामा हामीले उपयुक्त रेटहरु लैजान सक्नुपर्दछ । सामुदायिक वनमा आबद्ध नभएका व्यक्तिहरुका लागि राज्यले छुट्याएको पचास प्रतिशत आपूर्ति समितिको काठमार्फत् उपलब्ध गर्न सकिन्छ ।

समाजः मकवानपुर जिल्लाको सन्दर्भमा वनसँग सम्बन्धित कस्ता–कस्ता उद्यमहरु सञ्चालन गर्नु उपयुक्त देखिन्छ ?

चौलागाईंः मकवानपुरको सन्दर्भमा काठको कुर्सी, टेबल, झ्याल, ढोकालगायत अन्य फर्निचरसम्बन्धी सामानहरु तयार गरी बेच्ने उद्यम उपयुक्त देखिन्छ । दुई वा तीन वटा सामुदायिक वनहरु आपसमा मिलेर यस्ता उद्यमहरु सञ्चालन गर्न सक्यो भने बाहिरबाट आयात गर्नुपर्दैन ।

समाजः सामुदायिक वन उपभोक्ता महासंघले राष्ट्रियरुपमा ध्यान दिनुपर्ने मुद्धाहरु के देख्नुहुन्छ ?

चौलागाईंः सामुदायिक वन उपभोक्ता महासंघले हाल चोरी निकासी गरेका, नियन्त्रणभन्दा बाहिर रहेकाको बारेमा संघीय सरकारसमक्ष गएर सामुदायिक वनको बारेमा बताउनुपर्ने देखिन्छ । एक वन एक उद्यम बनाएर अगाडि बढाउने, जडीबुडीको सदुपयोगजस्ता थुप्रै मुद्धाहरु महासंघले हेर्नुपर्ने देखिन्छ ।

Exit mobile version