हेटौंडाः ८ औं राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा योग शिविर भएको छ । आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र ओम वृद्धाश्रमको संयुक्त आयोजनामा योग शिविर भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिनुभयो ।
योग शिविरमा वृद्धाश्रममा रहेको वृद्धहरुलाई सामान्य शारीरिक तथा मानसिक योग प्रशिक्षण दिइएको थियो । त्यस्तै, वृद्धहरुलाई हाडजोर्नी दुखाई रोकथाम, मधुमेह, उच्च रक्तचापबाट बच्ने उपाय सम्बन्धि चेतना र सामान्य औषधि समेत दिइएको छ । योग शिविरमा डा.नितेश कुमार गिरिले मुख्य प्रशिक्षकको रुपमा भुमिका निर्वाह गर्नुभएको थियो ।
योग शिविरमा लगभग २५ जना वृद्धहरुको सहभागिता रहेको थियो । शिविर कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाई, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका कार्यालय प्रमुख डा. ललिता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
