हेटौंडाः राहदानी विभागको अनलाइन सर्भरमा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानीसम्बन्धी सम्पूर्ण सेवा स्थगित गरेको छ । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले राहदानीसम्बन्धी सेवा स्थागित गरिएको जनाएको छ ।
पछिल्लो समय राहदानी बनाउन सेवाग्राहीले अनलाइनमार्फत समय लिनुपर्ने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका कम्प्युटर अपरेटर आशिष पौडेलका अनुसार राहदानी विभागले नै सर्भरमा समस्या भएर सेवा अवरुद्ध भएको भनी विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासन कार्यालयले पनि सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेको उल्लेख गर्नुभयो ।
सर्भरमा देखिएको समस्या समाधान भएलगत्तै सेवा सुचारु हुने पौडेलको भनाइ छ । मकवानपुर जिल्लामा दैनिक १ सय ५० भन्दा बढीले राहदानी प्राप्तीका लागि अनलाइनमार्फत आवदेन दिने गरेका छन् ।