Home मुख्य समाचार कमजोर मानव अधिकार

कमजोर मानव अधिकार

हरेक मानवको आधारभूत अधिकारको रुपमा मानव अधिकारलाई लिइन्छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९४८ को डिसेम्बर १० मा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित भएपछि यसलाई नेपालले पनि अनुमोदन गरेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानमा पनि ३१ वटा धारामा मौलिक अधिकारको रुपमा मानव अधिकारको व्यवस्था गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्ताबेजमा मानव अधिकारको व्यवस्था गरिएको भए पनि नेपालमा मानव अधिकार उल्लंघनका घटना उत्तिकै हुने गरेका छन् । आम नेपालीहरु मानव अधिकारबाट वञ्चित हुनुपरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणा तथा नेपालको संविधानमा उल्लेख भएका मानव अधिकार हरेक नेपालीले प्राप्त गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार हेटौंडामा सन् २०२२ मा नेपालमा मानव अधिकारको अवस्थाबारे समीक्षा गरेको छ । सो अवसरमा मकवानपुर जिल्लाको सन् २०२२ को मानव अधिकारको स्थितिबारे समेत समीक्षा गरिएको छ । सन् २०२२ मा मकवानपुर जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७० वटा घटना भएको पाइएको छ । सो घटनामा राज्यपक्षबाट ७ जना र अन्य पक्षबाट ६६ जना मानिस पीडित भएको इन्सेक मकवानपुरले जनाएको छ । जसमध्ये ५० जना महिला, २२ पुरुष र १ जना लैंगिक तथा अल्पसंख्यक महिला पीडित भएको बताइएको छ । इन्सेकको अभिलेखअनुसार गतवर्ष सन् २०२१ मा मकवानपुर जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७८ वटा घटना भएको थियो । ती सबै घटना अन्य पक्षबाट भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए । सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लंघनको घटना घटेको थियो । इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ६ हजार २ सय ८५ वटा घटना भएको उल्लेख छ । यी घटना अघिल्लो वर्ष अर्थात् सन् २०२० को तुलनामा ७ सय ४२ ले बढी हो । सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटना ३ हजार ४ सय १७ वटा भएको उल्लेख गरिएको छ ।

दोस्रो विश्वयुद्धको समयमा विश्वभर ठूलो जनधनको क्षति भएपछि मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरिएको थियो । एक मानिसले अर्को मानिसको सम्मान गर्न नसक्दा मानव अधिकार उल्लंघनका घटना हुने गर्दछन् । अर्थात् मानव अधिकार उल्लंघनको एकमात्र कारण मानिस मानिसबीच हुने विभेद हो । हरेक मानिसको जीवनको सुरुवात र अन्त्य समान तरिकाले हुन्छ भन्ने बुझाई सबै मानिसमा भइदिएमा मानव अधिकार उल्लंघनका घटना हुँदैन थिए होला । यस्तै, मानिसले आफूलाई अरुभन्दा ठूलो, धनी, शक्तिशाली, इज्जतदार ठान्ने कारण पनि मानव अधिकार उल्लंघनका घटना हुने गर्दछन् । पद, पैसा र पावरले मानिसलाई अरुको अधिकार उल्लंघन गर्न प्रेरित गर्ने गरेको छ ।

विशवभर नै वर्ग, वर्ण, जाति, क्षेत्र, लिंग, भाषा, धर्म, संस्कृति आदिका आधारमा मानिसको सामाजिक हैसियत र जीवनस्तर फरक हुने भएकाले मानव अधिकार उल्लंघनका घटना हुने गरेका छन् । प्रत्येक नागरिकले राजनीतिक अधिकार, सामाजिक अधिकार, नागरिक अधिकार, आर्थिक अधिकार र सांस्कृतिक अधिकार प्राप्त गर्न सकेमा मानव अधिकार प्राप्त गरेको मान्ने गरिन्छ । मानिलाई मानिसको रुपमा बाँच्नका लागि मानव अधिकार आवश्यक हुन्छ । व्यवस्था परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलनले नेपालमा राजनीतिक अधिकार स्थापित भएको छ । राजनीतिक अधिकारसँगै कानुनीरुपमा मानव अधिकारको व्यवस्था पनि गरिएको छ । तर, राजनीतिक स्थिरता कायम हुन नसक्दा र आशातित विकास र समृद्धि प्राप्त नहुँदा नेपालमा मानव अधिकारको अवस्था कमजोर छ । मानव अधिकारको ग्यारेन्टी गर्न सरकार र राजनीतिक दलहरु गम्भीर बन्नु आवश्यक छ ।

Exit mobile version