Home मुख्य समाचार चोरी भएको मोटरसाइकल र स्कुटर फेला पारी धनीलाई फिर्ता

चोरी भएको मोटरसाइकल र स्कुटर फेला पारी धनीलाई फिर्ता

सम्बन्धित धनीलाई मोटरसाइकल र स्कुटर फिर्ता गरिँदै ।

हेटौंडाः चोरी भएको मोटरसाइकल र स्कुटर खोजी गरी मकवानपुर प्रहरीले सम्बन्धित धनीलाई फिर्ता दिएको छ । पुस ११ गते राती अन्दाजी १० बजेको समयमा हेटौंडा–१०, बसपार्कस्थित स्वस्तिक होटल अगाडि पार्किङ गरी राखेको प्रकाश गौतमको नाममा रहेको बा प्र ०३–००४ प ९४६७ नम्बरको यामाहा कम्पनिको स्कुटर र पुस १५ गते हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि पार्किङ गरी राखेको राम बहादुर मोक्तानको नाममा रहेको २२० सीसीको अन–टेस्ट पल्सर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको निवेदनका आधारमा प्रहरीले खोजी गरेको थियो । चोरी भएको मोटरसाइकल आइतबार हेटौंडा–४, कमलडाँडाबाट बेवारिसे अवस्थामा बरामद भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । स्कुटर भने प्रकाश गौतमकै साथीले शनिबार फिर्ता गरिदिएको प्रहरीले जनाएको छ । साथीले नै लिएर गएको भनी फिर्ता ल्याइदिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

Exit mobile version